चीनले सन् २०२५ सम्म देशभरि मन्डारिन (आधिकारिक चिनियाँ ) भाषा लागू गर्ने भएको छ । यसका लागि उसले चिनियाँ नागरिकमाझ आक्रामक अभियान सुरु गर्ने तयारी गरेको छ। सन् २०२५ सम्म ८५ प्रतिशत चिनियाँ नागरिकले मन्डारिन भाषा प्रयोग गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। यसबाट क्यान्टोनिज, होक्किइन, तिब्बती, मंगोलियन, उइगुर भाषामाथि ठूलो असर पर्ने पनि जनाइएको छ।
यही साता चीनको स्टेट काउन्सिलले क्याबिनेटले जारी गरेको आदेशमा मन्डारिन भाषालाई चीनको साझा भाषाका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ। अहिलेसम्म यो भाााको प्रयोग असन्तुलित र अपर्याप्त भएको पनि स्टेट काउन्सिलले ठहर गरेको छ। आधुनिक अर्थतन्त्रको माग पूरा गर्नका लागि यो भाषाको प्रयोग आमरूपमा सुधारिनुपर्ने पनि चीन सरकारको लक्ष्य छ।
आलोचकहरूले भने अल्पसंख्यक भाषाहरूमाथि यो चिनियाँ नीतिले ठूलो दबाब पर्ने जनाएका छन्। अन्य जातीय समुदाय तथा ग्रामीण भेगमा पनि २०३५ सम्म मन्डारिन भाषाको प्रयोग व्यापक बनाउँदै लैजाने चिनियाँ तयारी छ। यद्यपि यस्तो भाषा नीतिको चीनको इनर मंगोलियाभित्र आलोचना भएको थियो। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले यस्ता विरोध पृथकतावादीहरूबाट हुने गरेको आरोप लगाएको छ। राष्ट्रिय एकताका लागि मन्डारिन भाषाको प्रयोग अनिवार्य भएको पार्टीको ठहर छ। चीनले विश्वभरि कन्फ्युसियस इन्स्टिच्युटमार्फत मन्डारिन भाषाको प्रचारप्रसार गरेर प्रभाव विस्तार गरिरहेको छ।