एमालेको दशाैँ राष्ट्रिय महाधिवेशन उद्घाटनको दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व–पश्चिम राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ । बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म सवारीसाधनमा रोक लगाइनेछ । प्रजिअ तामाङले एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारीसाधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने बताए ।
पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई व्यवस्थापन गरिएको छ । नारायणगढ–मुग्लिनतर्फबाट आएका सवारीसाधन बाइपास सडक हुँदै पूर्वतर्फ जानेछन् । पश्चिमतर्फ जानेलाई केन्द्रीय बस ट्रमिनलबाट भित्री सडक प्रयोग गरेर बाह्रघरे हुँदै नारायणी नदीको पुलबाट नवलपरासीतर्फ पठाइनेछ । त्यताबाट आएका सवारीलाई पनि भित्री सडक प्रयोग गरेर केन्द्रीय बस ट्रमिनल हुँदै गन्तव्यतर्फ पठाइनेछ । तामाङले भने, ‘यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन्।’
मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चलेमा दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्नेछन् । महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।