एमाले महाधिवेशनमा करिब २३ सय प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी समितिको मंगलबारको बैठकले महाधिवेशनमा दुई हजार दुई सय ९७ प्रतिनिधि सहभागी हुने यकिन गरेको छ । यसअघि एक हजार नौ सय ९९ प्रतिनिधि सहभागी गराउने निर्णय भएको थियो ।
तर, संगठित सदस्यता डेढ लाख थपिएकाले प्रतिनिधि संख्या बढेको केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार १९ सय ५६ निर्वाचित र दुई सय ३८ जना पदेन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूमध्ये पाँच सय ७६ महिला प्रतिनिधि निर्वाचित भएर आएका छन् भने मनोनीत प्रतिनिधि संख्या एक सय तीनजना हुनेछन् ।
ओलीको अध्यक्षतामा ११ सदस्यीय अध्यक्षमण्डल
स्थायी समितिको बैठकले दशौंँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालन गर्न अध्यक्ष केपी ओलीको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । अध्यक्षमण्डलमा उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेल सदस्य छन् । त्यस्तै, नेताहरू सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य रहेको सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै, बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहितको माइन्युट कमिटीसमेत गठन गरेको छ । कमिटीमा केन्द्रीय सदस्यहरू विष्णु रिजाल, सूर्य थापा, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह सदस्य छन् ।