अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छैन : ओली

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन्। अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रियासमेत दिए। अलि बढी खट्नुहुन्छ, थकाइ लाग्छ, आराम गर्ने हो कि भनेर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई सम्मान गरेको र त्यसबाट आफू प्रभावित भएको पनि उनले बताए। 

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरूको सुझाब रहेको पनि बताए। उनले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पारे। पार्टीको पदाधिकारी वा केन्द्रीय समितिमा आउनेहरूलाई आफूले कुनै दबाब र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाइ थियो। उनले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए। अध्यक्ष ओलीलाई तपाईंले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनी प्रश्न गरिएको थियो। त्यसको जवाफमा उनले सर्वसम्मति वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताए। ओलीले पार्टीका नेताहरूको व्यवस्थापनमा आफूले ध्यान नदिने बताए। देश र जनताको व्यवस्थापनमा आफूहरूको ध्यान जाने अध्यक्ष ओलीको भनाइ थियो। 
 

सुझावित समाचार