रसुवाका २३ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका २७ वडामध्ये २३ वडाको वडा अधिवेशन सम्पन्न भएको हो।
क्रियाशील सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको रसुवाको वडा अधिवेशन आइतबार भएको हो। अधिकांश वडामा सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन् भने केही वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ।
हालसम्म जिल्लाको कालिका गाउँपालिकाका ५ वटै वडा र आमाछोदिंगाे गाउँपालिकाका ५ वटै वडामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ।
त्यसैगरी, उत्तरगया गाउँपालिकाको वडा नम्बर १ र ४ मा सर्वसम्मतिबाट नेतृत्व चयन भएका छन्। वडा नम्बर ५ मा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस रसुवाले जनाएको छ। वडा नम्बर २ र ३ मा सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास भइरहेको नेपाली कांग्रस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए।
त्यसैगरी, नौकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मतिबाट नेतृत्व चयन भएको जनाइएको छ। वडा नम्बर ६ मा भने सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ।
त्यसैगरी गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ भने वडा नम्बर ६ मा सर्वसम्मतिबाट नेतृत्व चयनको प्रयास भइरहेको नेपाली कांग्रेस रसुवाले जनाएको छ।
जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रबाट तोकिएर आएका निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनकसिंह साउद खटिएका छन्। उनीहरूले अधिवेशन सम्पन्न गराउनका लागि जिल्लाको २७ वटै वडामा शिक्षक महासंघका शिक्षकहरूलाई अधिकृतको रूपमा खटाएका छन्।
कात्तिक ३० गते मंगलबार नेपाली कांग्रेस रसुवाको पालिका अधिवेशन गराउने भनिएको छ। तर, जिल्लाको चार वडामा नेतृत्व चयन हुन बाँकी रहेको छ। सबै वडामा नेतृत्व चयनपश्चात पालिका अधिवेशनका लागि प्रक्रियामा जाने निर्वाचन अधिकृत सुमनकुमार केसीले बताए। ‘केही वडाको नेतृत्व चयन भएका पदाधिकारीको वर्जिनल डकुमेन्ट आइपुगेको छ, अधिकांश वडाको आउन बाँकी छ,’ उनले भने, ‘सबै वडाको डकुमेन्ट आएपछि मात्र पालिका अधिवेशन सुरु हुन्छ।’
वडा कार्यसमितिबाट सिफारिस भएर गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि रसुवामा विवाद भएको थियो। शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुनः समावेश गराएसँगै विवाद समाधान भएपछि आइतबार वडा अधिवेशन सुरु भएको हो। निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा नेपाली कांग्रेसको ३ हजार ९ सय ६४ क्रियाशील सदस्य रहेका छन्।