‘सर्वोच्चको संकटले न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा’

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

इन्टरेनसनल कमिसन अफ जुरिस्ट्स्, ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेसनलले सर्वोच्च अदालतको संकटका कारण नेपालमा न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गएको निष्कर्ष निकालेका छन्। यी तीन संस्थाले शुक्रबार संयुक्त विज्ञप्ति निकालेर यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनीहरूले मानवअधिकार र विधिको शासन कायम राख्नका लागि अदालतको विश्वसनीयता र स्वतन्त्रता जोगाउने र बढाउने गरी संकट समाधान गरिनु आवश्यक रहेको बताएका छन्। विज्ञप्तिमा न्यायाधीशहरूको कदमको प्रंशंसा गर्दै ‘अभूतपूर्व कदम’ को संज्ञा दिइएको छ। न्यायाधीशहरूले राज्यको कार्यकारी निकायसँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्बन्ध भएको आरोपको विषयलाई प्रमुखताका साथ उठाएको सन्दर्भमा प्रभावकारी छानबिन गरिनुपर्ने आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, यी संस्थाहरूले घुमाउरो रूपमा संसदमार्फत महाभियोगका आधारको खोजी गर्नसमेत सुझाएका छन्। 

‘न्यायिक स्वच्छता, अखण्डता र स्वतन्त्रताविना सर्वोच्च अदालत निकै नै कमजोर हुने र कमजोर सर्वोच्च अदालतले मानवअधिकार र विधिको शासनको संरक्षण गर्ने संवैधानिक दायित्वलाई कायम राख्न नसक्ने निश्चित प्रायः छ। न्याय प्रणालीमा जनआस्था र विश्वास पुनर्स्थापना गर्न संविधानबमोजिम प्रक्रिया अपनाएर प्रधानन्यायाधीशमाथि लगाइएका आरोपहरूलाई शीघ्र, प्रभावकारी र विस्तृत छानबिन गरिनुपर्दछ।’ विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा नेपालमा मानवअधिकार र विधिको शासन कायम राख्न सर्वोच्चको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अहिलेको संकट न्याय प्रक्रियाका लागि एकदमै चिन्ताजनक रहेको औँल्याइएको छ। विज्ञप्तिमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा समितिको प्रतिवेदन कार्यान्वयनमा नआएको भन्दै चिन्तासमेत व्यक्त गरिएको छ।  

संयुक्त विज्ञप्तिमा आइसिजेकी वरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्मा,ह्युमन राइट्स वाचकी दक्षिण एसिया निर्देशक मीनाक्षी गाङ्गुली र एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा संविधानले निर्दिष्ट गरेबमोजिम संसद्ले सर्वोच्च अदालतको शाख जोगाउन र न्यायपालिकामा जनविश्वास सुनिश्चित गर्नका लागि प्रधानन्यायाधीशमाथि लागेका आरोपहरूको सशक्त, पारदर्शी र प्रभावकारी छानबिनको सुनिश्चित गर्न गर्नुपर्ने उल्लेख छ।
 

सुझावित समाचार