इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई आठ वर्ष कैद

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण

कास्की/ पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कास्की जिल्ला अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ। न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत १७ कात्तिकमा यस मुद्दाको फैसला सुनाएको हो। 

फैसलाअनुसार मुख्य आरोपी नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार नौ सय ६७ रुपैयाँ ९३ पैसा जरिवाना भएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले जानकारी दिए।

नेपालीसँगै अदालतले चित्रबहादुर भण्डारी र शक्ति किसान गरी दुईजनालाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार नौ सय ६७ रुपैयाँ ९३ पैसा जरिवाना सुनाएको छ। यसैगरी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङ गरी चारजनालाई जनही ६ वर्ष कैदसँगै एक करोड २६ लाख २३ हजार नौ सय ६७ रुपैयाँ ९३ पैसा जरिवाना गर्ने फैसला सुनाएको सूचना अधिकारी किसानले जानकारी दिए। 

यस अघि जिल्ला प्रहरी कार्यालय कास्कीमा इमेजका पाँच सय २५ जना बचतकर्ताले जाहेरी दिएका थिए भने बचतकर्ताको रकम ५८ करोड पुगेको थियो। सोही आधारमा १२ भदौ ०८० मा ५७ करोड ३५ लाख ८४ हजार नौ सय रुपैयाँ ४७ पैसा हिनामिना गरेको भन्दै नेपालीसहित १५ जनाविरुद्ध कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो। पाँच सय २५ जना बचतकर्तामध्ये चार सय १५ जनासँग विभिन्न मितिमा मिलापत्र भएको थियो भने बाँकी रहेका एक सय १० जनाले १८ करोड बिगो माग गर्दै नेपालीसहित १५ जनाविरुद्ध २५ कात्तिक ०८२ मा हरिबहादुर खत्रीसहित १४ जनाले कास्की जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरेका थिए।
 

सुझावित समाचार