मकवानपुर । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट थपेर सञ्चालन गरिएका चारवटा विद्युतीय माइक्रोबस (ईभी)लाई कारबाही गरेको छ।
भीमफेदी गाउँपालिका वडा नम्बर ६ स्थित प्रहरी चेकप्वाइन्टमा गरिएको जाँचका क्रममा दर्ता किताबमा उल्लेखित सिट क्षमताभन्दा चारवटा बढी सिट जडान गरिएका सवारी फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले सोमबार सवारी साधन रोकेर जाँच गर्ने क्रममा चारवटा ईभीमा तोकिएको क्षमताभन्दा बढी सिट जडान गरिएको पाएको थियो। ती सवारीमा थप चार–चारवटा अवैध सिट राखिएको प्रहरीले जनाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत सवारी सञ्चालन गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रत्येक सवारीलाई १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। चारवटा सवारीबाट कुल ४० हजार रुपैयाँ जरिवाना असुल गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
कारबाहीमा परेका सवारीका थप सिट स्थानीय सञ्चारकर्मीको रोहबरमा निकालिएको थियो। कारबाहीमा पर्ने सवारीमा बा.प्र.०८–००१ ज ००४२, बा.प्र.०१–००२ ज ६२३९, बा.प्र.०१–००२ ज ७००६ र बा.प्र.०१–००२ ज ६९८१ नम्बरका ईभी रहेका छन्।
क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले सवारीको दर्ता किताबमा उल्लेखित सिट संख्याअनुसार मात्रै सञ्चालन गर्न प्रहरीले सचेत गराएको छ।