दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कुनै पनि दबाब र प्रभावबाट मुक्त रही अपराध अनुसन्धान गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धान: प्रमाण संकलनदेखि फैसलासम्म’ विषयक एकदिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै  उनले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी, व्यावसायिक, प्रमाणमुखी र परिणाममुखी बनाउनमा जोड दिएका हुन्। 

प्रहरी महानिरीक्षक केसीले वर्तमान अवस्थामा अपराधको स्वरूप, अपराधीको कार्यशैली र अपराधको सञ्जाल तीव्र रूपमा परिवर्तन भइरहेको, प्रविधिको विकासले अपराध गर्ने तरिका परिवर्तन भइरहेको एवं विशेष गरी बैंकिङ कसुर, वित्तीय ठगी, सहकारी तथा लगानीसम्बन्धी अनियमितता, अनलाइनमार्फत हुने आर्थिक अपराध, सम्पत्ति शुद्धीकरण तथा अवैध वित्तीय कारोबारको बढ्दो जटिल स्वरूपले अपराध अनुसन्धानमा नयाँ चुनौती सामना गर्नुपर्ने बताए।  वित्तीय अपराधको बद्लिँदो स्वरूपलाई सम्बोधन गर्न परम्परागत अनुसन्धान पद्धतिलाई आधुनिक अनुसन्धान प्रणालीतर्फ रूपान्तरण गर्दै नवीनतम् प्रविधिको प्रयोग, डिजिटल फोरेन्सिक क्षमताको अभिवृद्धि, विशेषज्ञ जनशक्तिको विकास र आवश्यक स्रोतसाधनको व्यवस्थापन उनले जोड दिएका छन्। 

 वित्तीय अपराधको अनुसन्धानमा नेपाल प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलगायत सम्पूर्ण सम्बन्धित निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य रहेको उनको भनाइ छ । प्रत्येक निकायको कानुनी अधिकार क्षेत्र र जिम्मेवारीको सम्मान गर्दै सूचना आदान–प्रदान, प्रमाणको शीघ्र उपलब्धता, प्राविधिक सहयोग र अनुसन्धान तथा अभियोजनबिचको समन्वयलाई संस्थागत बनाउनुपर्ने बताउँदै सीमापार वित्तीय कारोबार र अपराध सञ्जालको हकमा अन्तर्राष्ट्रिय सहकार्य र पारस्पारिक कानुनी सहायतालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको महानिरीक्षक केसीले बताए।  

 कार्यक्रममा प्रहरी महानिरीक्षक डा. केसीले अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह-३’ पुस्तकको विमोचन गरेका थिए । विमोचित पुस्तक विगतको अनुसन्धानको अनुभव, चुनौती, सिकाइ र सफलतालाई संस्थागत ज्ञानको रूपमा अभिलेखीकरण गर्ने महत्वपूर्ण प्रयास रहेको उल्लेख गर्दै यसमा समेटिएका घटनाहरू नयाँ पुस्ताका अनुसन्धानकर्ताको लागि सिकाइको स्रोत बन्ने र अनुसन्धान पद्धतिमा सुधार गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउने आधार तयार गर्ने अपेक्षा लिएको उनको भनाइ छ । 

कार्यक्रममा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणालीलाई व्यावसायिक र वैज्ञानिक बनाउने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको अपराध अनुसन्धान विभागको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अपराध अनुसन्धान विभागले नेपाल प्रहरीको अपराध अनुसन्धानको क्षमता विकास, जटिल र संवेदनशील अपराधको अनुसन्धानको मार्गनिर्देशन, अनुसन्धान पद्धतिको संस्थागत सुदृढिकरण र व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गरे । यसै अवसरमा आयोजित कार्यशाला गोष्ठी समयसापेक्ष र अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्यशालाबाट वित्तीय अपराध अनुसन्धानको विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण, प्रमाण संकलनदेखि अभियोजन र फैसलासम्मको प्रक्रियामा सुधारका उपायहरू तथा सम्बन्धित निकायबिचको समन्वयलाई थप प्रभावकारी बनाउन व्यावहारिक सुझाव प्राप्त हुने अपेक्षा लिएको उनले बताए।  

कार्यशालामा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले वित्तीय अपराध अनुसन्धानमा अभियोजन तथा फैसलाका पक्षहरूसम्बन्धी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक मोहनकुमार थापाले वित्तीय अपराधको अवस्था, प्रकृति र प्रवृत्तिसम्बन्धी, साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले वित्तीय अपराध अनुसन्धानमा डिजिटल प्रमाण संकलनसम्बन्धी तथा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले वित्तीय अपराधको अनुसन्धानमा सम्पत्तिको खोजी र चुनौतीहरूसम्बन्धी आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो भने प्रस्तुतीकरणका विषयहरूमा सहभागीहरूबिच बृहत् छलफलसमेत भएको थियो । 
 

सुझावित समाचार