सत्ता र प्रतिपक्षी दलका नेता भन्छन्– न्यायालयको विवादमा दलमा छलफल गरिहाल्नुपर्ने आवश्यकता छैन

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिकाभित्रैबाट खोज्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा गुरुङले न्यायपालिकाभित्र देखिएको हालको समस्या राजनीतिक दलहरूको एजेन्डा नबनेको बताए । 

उनले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेन्डा बनेमा अथवा कार्यपालिकाको एजेन्डा बनेमा मात्रै राजनीतिक दलहरू आकर्षित हुने बताए । उनले भने, ‘अहिले दलहरूले एजेन्डा बनाउने विषय पनि होइन । दलहरूको क्षेत्राधिकारभित्रको विषय पनि पर्ने कुरा भएन । भविष्यमा संसदमा एजेन्डा बन्यो या कार्यपालिकाको एजेन्डा बन्यो भने त्यो वेलामा दलहरू आकर्षित हुने कुरा एउटा पाटो भयो । अन्यथा अहिले दलहरूको एजेन्डा बनिसकेको जस्तो लाग्दैन । अहिले न्यायालयलगायतका कुनै पनि निकायभित्र पैदा भएको समस्याको समाधान त्यहीँबाट खोज्नु नै उपयुक्त हुन्छ । संविधानको भावना र मर्मअनुसार, न्यायपालिकाको स्वतन्त्रताको मान्यताअनुसार त्यही ढंगले निकास खोज्नुपर्छ भन्ने लाग्छ ।’

उनले पाँचदलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न भूमिका खेल्ने बताए । गुरुङले एमसिसीका कतिपय विषय संशोधन भए मात्रै प्रक्रिया अगाडि बढ्ने बताए । 

कार्यक्रममा एमालेका नेता खगराज अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने विषयमा एमालेले छलफल गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले न्यायाधीशहरूले राजनीतिक दलको भाषा बोल्न नहुनेमा जोड दिए । उनले भने, ‘महाअभियोगको प्रस्तावका बारेमा हामीले छलफल गर्नुपर्ने अहिले भर्खरै आवश्यकता देख्या छैनौँ । किनभने त्यहाँ ल्याउँछौँ कि ल्याउँदैनाँै भनेर एमाले अनुबन्धित हुनुपर्ने विषय नै छैन अहिले । न्यायाधीशहरू राजनीति गर्ने कुनै राजनीतिक दलको भाषा बोल्ने काम न्यायाधीशहरूले गर्नुहुन्न । न्यायालय सम्मानित भइराख्नुपर्छ र सम्मानित हुन सक्नुपर्छ । पूर्वाग्रही हुनुहुँदैन । र, विवादास्पद फैसला गर्ने र ओजनदार निर्णय संविधानमा आधारित भएर फैसला नगर्दा यस्ता कुराहरू आइराख्छन् । त्यसैले परमादेश दिँदा नै उहाँहरूले सेटिङ भएको कुरा आफैँ बोल्दै हुनुहुन्छ नि ।’

कांग्रेसकी नेतृ तथा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले न्यायालयलाई विवादमा पार्न नहुने बताइन् । रेग्मीले गठबन्धनमा बिग्रह नहोस् भन्ने हेतुले गठबन्धनलाई मजबुत पार्न पाँचदलीय समन्वय समिति बनाइएको बताइन् ।

सुझावित समाचार