लमजुङ प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका सुन्दरबजार नगरपालिका– ११ बस्ने वर्ष ५१ का पदमराज न्यौपानेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा शनिबार राति काठमाडौं महानगरपालिका– १६ बालाजुबाट न्यौपानेलाई पक्राउ गरेको हो ।
काठमाडौंमा लुकिछिपी बसेको सूचना पाएपछि लमजुङबाटै खटिएको टोलीले उनलाई पक्राउ गरी लमजुङ ल्याएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
बैंकिङसम्बन्धी कसुर मुद्दामा उच्च अदालत पाटनले गत वर्ष पुसमा न्यौपानेविरुद्ध ६ लाख ६० हजार रुपैयाँ जरिवाना र सात दिनको कैद फैसला सुनाएको थियो । मुद्दा परेपछि फरार उनलाई काठमाडौंमा पक्राउ गरी लमजुङ ल्याइएको हो । उनलाई लागेको कैद तथा जरिवानाबापतको रकमसमेतलाई कैदमा निर्धारण गरी ६ वर्ष १७ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
अदालतले सात दिन मात्रै कैद तोकेकोमा ६ लाख ६० हजार रुपैयाँ जरिवाना तिर्न नसक्दा थप ६ वर्ष १७ दिन कारागारमा बस्नुपरेको हो ।