कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीका जनतालाई आफ्नै देश बिरानो छ । आफ्नै देश आउन पनि उनीहरूलाई भारतको बाटो भएर आउनुपर्ने बाध्यता छ । दक्षिण, पश्चिम र उत्तरमा भारत छ । पूर्वमा ठूलो बिरिङ नदी छ । नदीमा पुल नहुँदा बर्खामा आफ्नै देश आउन उनीहरू सक्दैनन् ।
भाद्रु राजवंशी, स्थानीय : कहिलेकाहीँ त देश नै हाम्रो होइन कि झैँ लाग्छ । हाम्रा लागि बिरिङमा एउटा पुलसम्म बनाइदिँदैन, राज्य,’ उनी भन्छन्, ‘माध्यमिक तहको शिक्षाका लागि नदीमा जोखिम मोलेर आउनुपर्छ कि त भारतको बाटो भएर घुमेर आउनुपर्ने बाध्यता छ, हामीलाई ।
भूगोलले ठगिएका यहाँका स्थानीय राज्यबाट पनि उपेक्षित छन् । आफ्नै देश आउन नसक्ने अवस्था भएपछि उनीहरू भारतकै भर पर्नुपर्ने अवस्था छ । प्रशासनिक कामले गाउँपालिका र वडा कार्यालय आउनुपरे कि त लामो दूरी पार गर्दै भारतीय बाटो भएर आउनुपर्छ कि त बिरिङ नदीमा जोखिम मोलेर डुंगा चढेर आउनुपर्ने बाध्यता छ । आफ्नै गाउँपालिका र वडा कार्यालयसम्म बिरिङ नदीमा जोखिम मोलेर आउँदा पनि बाह्रदशी गाउँपालिका काटेर मात्र पुग्नुपर्छ । पिण्डलबारीका करिब एक सय ४० घरका नागरिक यस्तै कष्टकर जीवन बिताउन बाध्य छन् ।
गाउँमा बल्लतल्ल बिजुली पुगेको छ । कक्षा–५ सम्मका लागि गाउँमै विद्यालय छ । बाँकी अध्ययनका लागि जोखिम मोलेर बाह्रदशी गाउँपालिकाको विद्यालय आउनुपर्ने बाध्यता रहेको स्थानीय भाद्रु राजवंशी बताउँछन् । ‘कहिलेकाहीँ त देश नै हाम्रो होइन कि झैँ लाग्छ । हाम्रा लागि बिरिङमा एउटा पुलसम्म बनाइदिँदैन, राज्य,’ उनी भन्छन्, ‘माध्यमिक तहको शिक्षाका लागि नदीमा जोखिम मोलेर आउनुपर्छ कि त भारतको बाटो भएर घुमेर आउनुपर्ने बाध्यता छ, हामीलाई ।’
दैनिक उपभोग्य सामग्रीका लागि भारतकै भर पर्नुपर्ने पिण्डलबारीवासीलाई वेलावेला भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेको बताउँछन्, भाद्रु । ‘लकडाउन नहुँदा त त्यति समस्या थिएन । तल (भारतको बाटो)बाट घुमेर नेपाल आउँथ्यौँ । दैनिक खाने सामान लिन पनि भारत नै जान्थ्यौँ,’ उनी भन्छन्, ‘तर, लकडाउन भएपछि धेरै गाह्रो भएको छ । पारि जाँदा पनि एसएसबीले दुःख दिन्छन् ।’
पिण्डलबारी गाउँ झापा निर्वाचन क्षेत्र–३ मा पर्छ । बिरिङ नदीमा झोलुंगे पुल निर्माणका लागि दुईपटक शिलान्यास भइसक्यो । तर, अहिलेसम्म निर्माणको काम सुरु हुन सकेको छैन । ०७२ मा पहिलोपटक निर्माणका लागि शिलान्यास भएको थियो । पछिल्लोपटक यस क्षेत्रका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शिलान्यास गरेका थिए । तर, अझै काम अघि बढ्न सकेको छैन ।
पिण्डलबारीलाई प्राथमिकतामा राखेर काम गरिएको छ : राजेन्द्र लिङ्देन, सांसद

सांसद राजेन्द्र लिङ्देनले पिण्डलबारीलाई प्राथमिकतामा राखेर काम गरिएको बताए । पिण्डलबारीमा बिजुली पुर्याइएको उनले बताए । गाउँमा स्वास्थ्य चौकी, ग्राभेल बाटो पुर्याउनुका साथै गाउँमा भएको विद्यालयको स्तरोन्नति गर्ने काम भएको सांसद लिङ्देनको दाबी छ । बिरिङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको झोलुंगे पुल डिभिजनबाट ठेक्का लागिसकेको उनले बताए । तर, काममा सुस्त भएको भन्दै उनले असन्तुष्टि जनाए ।