एक दशकअघि दक्षिणपन्थी विचारकमा विश्वव्यापी उष्णतालाई अस्वीकार गर्ने विचारकको बोलवाला थियो । १८औँ शताब्दीको अन्त्यमा दास व्यापार अन्त्यको विरोध गर्ने लर्ड लसन तथा कन्जर्भेटिभ पार्टीका अन्य विज्ञ भनिनेहरूका लेखकले सो पार्टीका पत्रिकाका विचार पृष्ठ भरिएका हुन्थे । आज तिनलाई कसैले सम्झिहाले भने पनि खतरनाक मूर्खका रूपमा स्मरण गरिन्छ ।
खनिज इन्धन उद्योगले प्रोपगान्डामा खर्च गरेको अर्बौं डलर र दक्षिणपन्थी तप्काका ‘केही ज्ञान नभएका’ ‘अति–जान्ने’बाट ती प्रोपगान्डाको स्वीकृतिले अपूरणीय क्षति पुर्यायो । बरु तिनले दक्षिणपन्थी नेतृ मार्गरेट थ्याचरको कुरा पत्याएको भए उचित हुन्थ्यो । थ्याचरले सन् १९८९ मा संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै कार्बनडाइअक्साइडको उत्सर्जनले जलवायु परिवर्तन गराइरहेको स्विकार्दै त्यसले मानवजातिलाई ठूलो क्षति पुर्याउने चेतावनी दिएकी थिइन् । मुनाफाभन्दा पर केही नसोच्ने व्यापारी र राजनीतिज्ञ तथा विज्ञको एक समूहको मूर्खताले महत्वपूर्ण दुई दशक खेर गयो । तिनले प्रस्तुत गरेका हरेक तर्क आज गलत प्रमाणित भएका छन् ।
अक्सर पत्रकारलाई सुझाब दिइन्छ : ‘एकजनाले पानी परिरहेको छ भन्यो र अर्काले सुक्खा छ भन्यो भने पत्रकारको काम दुवैको भनाइ उद्धृत गर्ने नभई झ्यालबाहिर हेर्ने र कसको भनाइ साँचो हुन सक्छ भनेर पत्ता लगाउने हो ।’ विश्वजगत्ले जलवायु मुद्दामा कसले मूर्ख बनाउने कोसिस गरिरहेको छ भन्ने जान्नका लागि बाहिरको मौसम विचार गर्नुपर्ने थियो । विश्व तापमान वृद्धिलाई ‘च्यानल फोर’द्वारा सन् २००७ मा प्रसारित एक वृत्तचित्रले ‘झुट’को संज्ञा दिएको थियो । तापमान वृद्धिका कारण हिमनदी तथा हिउँको च्यादर पग्लिरहेको र समुद्र थप अम्लीय बनिरहँदा यदि कुनै कुरा झुट थियो भने त्यो च्यानल फोर नै थियो । बेलायतको सरकारी सञ्चार नियामक संस्था ‘अफ–कम’ले सो च्यानलले जलवायु सम्बन्धमा यस्ता धेरै झुट प्रसारण गरेको पाइएको बताएको छ ।
हामी मानिस त विश्वव्यापी तापमान वृद्धिमा बानी पारौँला, तर समुद्र तथा हिमशिखरका हिउँले ‘बानी पार्न’ सक्दैनन् । न त बाढी तथा मरुभूमीकरणको जोखिममा रहेका सहरले नै बानी पार्न सक्नेछन् । तर, यो सब जोखिमबीच पनि जलवायु परिवर्तनलाई अस्वीकार गर्ने दक्षिणपन्थीहरू इतिहासको फोहोरमा टाउको गाडेर बसेका छन् । कार्बन उत्सर्जन कटौती गर्ने पक्षमा रहेका कन्जर्भेटिभ राजनीतिज्ञ हुँदै नभएकाचाहिँ होइनन् । उनीहरूको ठूलो संख्या अहिले आफ्ना दिग्भ्रमित सहकर्मीलाई अर्थतन्त्रको पुनर्निर्माणले उपभोक्ता तथा व्यवसायलाई हुने फाइदाबारे बुझाउने कोसिस गरिरहेका छन् । उनीहरू आफ्नो ढिपी छाड्न तयार भएकासम्म छन् । सम्भवतः जब तिनले मानव निर्मित तापमान वृद्धिको अस्तित्वलाई कसैगरी खण्डन गर्न सकिँदैन भन्ने बुझ्छन् अनि बल्ल बदलिनेछन् र आफ्नो परिवर्तनप्रति गर्वको भाव जताउनेछन् ।

आज जलवायु परिवर्तनको अस्तित्वलाई अस्वीकार गरिरहेकाहरूलाई मैले २३० वर्षअघि दासप्रथाको पक्षमा वकालत गर्नेहरूसँग तुलना गरिरहेको छु । कसैलाई यस्तो तुलना कठोर लाग्ला, तर यो तुलना पुष्टि गर्न सक्ने तर्क छन् मसँग । भविष्यमा एक दिन, जलवायु विज्ञानमाथिको आक्रमणलाई मानव दासत्वको प्रतिरक्षा गर्ने कार्यलाई जत्तिकै घृणाका साथ हेरिनेछ । तर, हाम्रो दुर्भाग्य ! त्यो दिन आइसक्नुपर्ने थियो ।
विश्वव्यापी तापमान वृद्धिको अस्तित्वप्रति शंका जनाउनेहरू सार्वजनिक बहस छाडेर कुना पस्नुपर्ने हो, तर केही अझै पनि आफ्नो विचारको प्रतिरक्षा गरिरहेका छन्
आज जलवायु परिवर्तन मानव निर्मित हो भन्ने तथ्यको विरोध गर्नेहरू धेरैजसो बूढाखाडा छन् । उनीहरू त्यो समयमा हुर्किए, जब कार्बन अर्थतन्त्र एकदम सामान्य थियो । तर, १८औँ शताब्दीका जमिनदारका लागि दासप्रथा पनि उत्तिकै सामान्य थियो । सन् १७८९ मा भएको एक संसदीय सुनुवाइमा एक वक्ताले अफ्रिकीहरू आफैँ दासदासी बन्न चाहने धारणा राख्दै ‘दास भएका प्रत्येक १० मध्ये ९ जना दास हुन पाएकामा खुसी रहेको’ तर्क गरेका थिए । आज खनिज इन्धन उद्योगले आफ्नो पक्षमा प्रोपगान्डा गरेजस्तै दासप्रथाका पक्षधरले पनि प्रोपगान्डा मच्चाएका थिए ।
तत्कालीन ब्रिटिस राजनीतिज्ञ विलियम विल्बरफोर्सले ब्रिटेनले दासप्रथा उन्मूलन गर्यो भने ‘जमिनदारहरू झुन्डिएर मर्नुपर्ने अवस्था आउने, भूकर बढ्ने, नौसेना नष्ट हुने र प्रतिद्वन्द्वी फ्रान्सले ब्रिटेनको कमजोरीको फाइदा उठाउने’ तर्क गरेका थिए । आज राजनीतिक सल्लाहकार निक टिमोथी टेलिग्राफमा लेख लेख्दै शून्य कार्बन उत्सर्जनको पक्षधरताका कारण ब्रिटेनमा गरिबी छाउने बताइरहेका छन् ।
बेलायतले नोभेम्बरमा कोप २६ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्दै छ । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा मिठामिठा कुरा गर्लान्, तर लगानी तथा राजनीतिक इच्छाशक्तिमा त्यो रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुराले महत्वपूर्ण भूमिका खेल्छ । विशेषतः यातायातलाई विद्युतीकरण गर्ने, मासुको उपयोग घटाउनेजस्ता तयारी कतै भएको देखिँदैन । यदि ठोस कदम चालिएन भने प्रधानमन्त्री पनि जलावायु परिवर्तनलाई अस्वीकार गर्ने समूहप्रति सहानुभूति त देखाउँदैनन् भन्ने प्रश्न उठ्नेछ ।
गार्जियनबाट (कोहेन गार्जियन मिडिया ग्रुपले आइतबार प्रकाशन गर्ने ‘अब्जर्भर’का स्तम्भकार हुन्)