प्रदेश सरकारमा पनि पकड गुमाउँदै एमाले

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण

एमाले विभाजनको असर : राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले दल छनोट गर्न २२ भदौसम्मको समयसीमा तोकेपछि प्रदेश सांसदहरू एमाले र एकीकृत समाजवादीमा खुल्ने क्रम सुरु

प्रदेश १ : एमालेका १० सांसदले आज एकीकृत समाजवादीमा सनाखत गर्दै
प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकारले बहुमत गुमाउने सम्भावना देखिएको छ । एमालेमा रहेका दश सांसदले बुधबार एकीकृत समाजवादीमा सनाखत गर्दै छन् । विगतमा माधव नेपाल समूहमा खुलेका २४ मध्ये बुधबार दश सांसदले नेपाल नेतृत्वको नयाँ पार्टीमा सनाखत गर्ने तयारी गरेका हुन् । 

भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, संखुवासभाकी सरिता थापा, पदमकुमारी गुरुङ, मोरङकी सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, पाँचथरका गणेश काङबाङ, इलामकी खिनुलङवा लिम्बू र उदयपुरकी सुनिता चौधरीले बुधबार प्रदेश निर्वाचन कार्यालय गएर सनाखत गर्दै छन् । अर्का एक सांसदको नाम खुलाइएको छैन । 

बुधबार उनीहरूले एकीकृत समाजवादीमा सनाखत गरे भीम आचार्य नेतृत्वको नवगठित सरकारले बहुमत गुमाउनेछ । एकीकृत समाजवादीतिर लागेका सांसद राजेन्द्र राईका अनुसार मंगलबार नै प्रदेश निर्वाचन कार्यालय गएर सनाखत गर्ने तयारी थियो । तर, मंगलबार प्रदेश सरकारले राधाकृष्ण रथयात्राको बिदा दिएकाले सम्भव नभएको हो । सांसद राईले एकीकृत समाजवादीमा नलाग्न अनेक प्रलोभन दिने र घेराबन्दी गर्ने प्रयास भइरहेको बताए । ‘एमालेबाट मन्त्री दिनेदेखि अनेकौँ प्रलोभन दिने र घेराबन्दीमा पार्ने प्रयत्न भए पनि हामी दृढ छौँ,’ उनले भने । सत्तापक्षले सांसदहरूलाई फकाउन थालेपछि यो समूह चार दिनदेखि बिग होटेलमा बसेको थियो । त्यहीँ आएर पनि फकाउन थालेपछि सोमबारदेखि उनीहरू त्यहाँबाट पनि अन्यत्रै सरेका थिए । 

दश सांसद एकीकृत समाजवादीमा लागे सरकार गुम्ने देखिएपछि एमालेले नेपाल पक्षमा रहेका सांसद तान्न थालेको थियो । त्यसक्रममा नेपाल समूहका खम्बा मानिएका तेह्रथुमका सांसद लछुमन तिवारी र ताप्लेजुङका सांसद बलबहादुर साम्होहाङलाई ११ भदौमा मुख्यमन्त्री आचार्यले मन्त्री नियुक्त गरेका थिए । प्रदेश सभामा नेपाल पक्षका सांसद रोक्न एमाले नेतृत्वले १० भदौमा शेरधन राईलाई राजीनामा गर्न लगाई आचार्यलाई मुख्यमन्त्री बनाएको थियो । प्रदेश सभामा एमालेका ५१ सांसद थिए । दश सांसद एकीकृत समाजवादीतिर लाग्दा एमालेसँग ४१ सांसद मात्र रहनेछन् । आचार्यले स्पष्ट बहुमत गुमाउनेछन् । प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका एक–एक सांसद छन् ।

प्रदेश २ : एमालेभन्दा एकीकृत समाजवादी बलियो
प्रदेश २ सभामा एमालेभन्दा एकीकृत समाजवादी बलियो देखिएको छ । प्रदेश सभामा रहेका २१ सांसदमध्ये बहुमत सांसद एकीकृत समाजवादीतिर लागेका छन् । अहिले समाजवादीतिर १३ सांसद र एमालेतिर आठ सांसद देखिएका छन् । सनाखतका क्रममा एक–दुई सांसद यताउता हुन सक्ने देखिएको छ । 

सांसदहरू गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ विगतमा नेपालनिकट थिए । आफूहरू सबै एकढिक्का रहेको र बिहीबारसम्ममा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर नयाँ दलमा रहेको सनाखत गर्ने तयारी भइरहेको सांसद महतोले बताए । महतोले यो संख्या अझ बढ्न पनि सक्ने दाबी गरे । यी तिनै सांसद हुन्, जसले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा भंग भई एमाले अस्तित्वमा आएपछि ओली पक्षका सत्यनारायण मण्डललाई हटाई शत्रुधन महतोलाई दलको नेता बनाएका थिए । मण्डललाई हटाउँदा १३ सांसद नेपालको पक्षमा थिए । 

एकीकृत समाजवादीले निर्वाचन आयोगले तोकेको २२ भदौपछि अलग्गै दलका रूपमा वर्तमान सरकारमा सहभागी हुने तयारी गरेको छ । प्रदेश २ मा अहिले जनता समाजवादीको नेतृत्वमा माओवादी र कांग्रेस सम्मिलित सरकार छ । केन्द्रमै रहेको गठबन्धनलाई निरन्तरता दिँदै प्रदेश २ मा पनि सरकारमा सहभागी हुने पनि तयारी गरिएको सांसद महतोले जानकारी दिए । 

बागमती : एमालेले गुमायो बहुमत, १३ दिनमै अष्टलक्ष्मी शाक्य अल्पमतमा

बागमती प्रदेशमा सत्तारुढ एमालेले स्पष्ट बहुमत गुमाएको छ । मंगलबार १२ जना सांसदले नवगठित माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेसँगै सत्तारुढ एमालेले बहुमत गुमाएको हो । विगतमा एमालेबाट निर्वाचित राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ, राजेन्द्रमान श्रेष्ठ र कृष्ण खनालले प्रदेश निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर एकीकृत समाजवादी रोजेका छन् ।

एमाले एक हुँदा नेपाल पक्षमा खुलेका २२ मध्ये मंगलबार १२ सांसद एकीकृत समाजवादीतिर लागे । बागमती प्रदेशमा अब एमालेसँग ४४ सांसद छन् । एक सय १० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ । विभाजनअघि एमालेसँग ५६ नै सांसद थिए । एकल बहुमतकै आधारमा एमालेले ४२ महिनादेखि सरकारको नेतृत्व गर्दै आएको थियो । 

एमाले विभाजन गरी छुट्टै पार्टी गठनका लागि माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि २ भदौमा एमाले नेतृत्वले मुख्यमन्त्री परिवर्तन गरी सरकार जोगाउने प्रयास गरेको थियो । डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गर्न लगाएर नेपाल पक्षमा रहँदै आएकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाए पनि शपथ लिएको १३ दिनमै उनको सरकार अल्पमतमा परेको छ । उनले नयाँ पार्टीमा नगई एमालेमै रहने निर्णय गरेकी छिन् । शाक्यले आफू नेपालको सल्लाह र ओलीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको बताएकी थिइन् । तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले नै पार्टी विभाजनपछि एमालेमै रहे शाक्यलाई समर्थन गर्न नसकिने स्पष्ट पारिसकेका छन् । 

प्रदेश सभामा अबको प्रक्रिया
आयोगले सनाखतका लागि २२ भदौसम्म समयसीमा तोकेको छ । सो समयसीमाभित्र प्रदेश सभाका कुनै पनि एमाले सांसदले दल बदली एकीकृत समाजवादी रोज्न सक्छ । सो समय गुज्रिएपछि आयोगले दल विभाजनपछि संसद्मा रहेका एमाले र एकीकृत समाजवादीको संख्या यकिन गरी प्रदेश सभालाई पत्र पठाउँछ । दल विभाजनको पत्र प्राप्तपछि प्रदेश सभाले दलहरूको सांसद संख्या छुट्याउँछ । ‘दल विभाजनका लागि आयोगबाट पत्र आउनेछ,’ प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले भने, ‘त्यसपछि कुन दलमा कति सांसद छन्, गणना हुनेछ ।’ उनले संविधानमा उल्लेख भएअनुसार संसद्मा सत्तारुढ दल विभाजन भए वा समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले त्यसैअनुसार प्रक्रिया अघि बढ्ने जानकारी दिए । 

बागमतीमा एमाले अल्पमतमा परेसँगै नयाँ सरकार गठनको कसरत अघि बढ्ने देखिएको छ । नयाँ सरकार गठनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बन्ने नेताहरूले बताएका छन् । तर, कसको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगो भने लागिसकेको छैन । एमाले गठबन्धनको सरकार तोड्न महत्वपूर्ण भूमिका खेलेकाले एकीकृत समाजवादीकै नेतृत्वमा बागमतीमा नयाँ सरकार बन्ने सम्भावना देखिन्छ । नयाँ सरकार गठनको गृहकार्यमा समाजवादीले राजेन्द्र पाण्डेलाई अघि सार्ने तयारी गरेको छ । 

बागमतीमा एमाले अल्पमतमा परेसँगै नयाँ सरकार गठनको कसरत अघि बढ्ने देखिएको छ । नयाँ सरकार गठनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन बन्ने नेताहरूले बताएका छन् । तर, कसको नेतृत्वमा सरकार बनाउने भन्ने टुंगो भने लागिसकेको छैन । 

 गण्डकी : प्रदेश सभामा समाजवादीको प्रतिनिधित्व नहुने सम्भावना

एकीकृत समाजवादी गण्डकी प्रदेश सभामा प्रतिनिधिविहीन हुने भएको छ । एमालेका २७ सांसद रहेको ६० सदस्यीय प्रदेश सभामा नेपाल नेतृत्वको पार्टीमा कुनै पनि सांसद देखिएका छैनन् । विगतमा नेपाल समूहमा रहेका बाग्लुङबाट निर्वाचित सांसद इन्द्रलाल सापकोटा एमालेमै रहने भएका छन् । पार्टीमा विवाद रहँदा नेपालको पक्षमा उभिएका सापकोटाले नेता नेपालले पार्टी विभाजन गरी नयाँ पार्टी गठन गर्नु सैद्धान्तिक, राजनीतिक र अन्य दृष्टिले गलत रहेको बताए । नेताले कहिलेकाहीँ विष सेवन गर्न सक्नुपर्छ भन्दै उनले पार्टी विभाजन गलत रहेको बताए । उनले पार्टी अध्यक्ष केपी ओलीले गरेका काम ९९ प्रतिशत गलत भए पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारे । 

लुम्बिनी प्रदेश : रमाले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने एमाले सांसद रमा घर्तीले नेकपा एकीकृत समाजवादी रोजेकी छिन् । पाल्पाबाट प्रतिनिधित्व गर्ने सांसद घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर मंगलबार एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । आयोगका प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ । भट्टराईले एक सांसदले समाजवादी रोजेको जानकारी दिए । घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ । ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए । घर्तीले एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ । प्रदेश सभामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धनको सरकार छ । 

सुदूरपश्चिम : १० सांसद एकीकृत समाजवादीमा, बुधबार ४ थपिँदै
सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेका छन् । उनीहरूले मंगलबार धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्नेमा एमाले संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, पूर्वमन्त्री माया भट्ट, अमर साउद, कुलवीर चौधरी, बलबहादुर सोडारी र सुशीला बुढाथोकी छन् । 

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने कम्तीमा १४ पुग्ने सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी कानुनमन्त्री जोशीले दाबी गरिन् । ‘नागरिकतालगायत आवश्यक काजजात नपुग्दा मंगलबार चार सांसदको सनाखत हुन सकेन,’ जोशीले नयाँ पत्रिकासँग भनिन्, ‘आज १० जनाले सनाखत गरेका छौँ, थप चारजनाले भोलि (बुधबार) सनाखत गर्नुहुन्छ ।’ 

भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारी, संसदीय दलका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र राज्यमन्त्री अर्चना गहतराजसमेत १३ जनाले नयाँ पार्टीको पक्षमा सनाखत गर्ने तयारी थियो । तर, अन्तिममा उनीहरू निर्वाचन कार्यालय पुगेनन् । सोडारी, तामाङ र गहतराज र अर्का एक सांसद गरी चारजनाले बुधबार सनाखत गर्ने जोशीले दाबी गरिन् । एमाले कैलालीका अध्यक्षसमेत रहेका मन्त्री सोडारी सुरुबाटै समाजवादीमा लागेका छन् । थप सांसदसहित आफूले बुधबार सनाखत गर्ने उनले बताए । आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजले पनि आवश्यक कागजात नपुग्दा आफूले मंगलबार सनाखत नगरेको बताइन् । ‘आज डकुमेन्ट नपुगेर नगएको हो । भोलि सनाखत गर्छु,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

केही दिनअघि आफू माधव नेपालकै पक्षमा रहेको बताएका संसदीय दलका पूर्वप्रमुख सचेतक तामाङ भने मंगलबारसम्म तटस्थ देखिएका छन् । ‘सनाखतको समय अझै छ । त्यतिन्जेलसम्म निर्णय गर्छु,’ एमाले कञ्चनपुरका अध्यक्षसमेत रहेका उनले भने । 

विराटनगरबाट गणेश लम्साल, जनकपुरधामबाट हदिश खुद्दार, हेटौँडाबाट सुदीप सिवाकोटी, कास्कीबाट रोहितराज पराजुली, बुटवलबाट विष्णु घिमिरे, धनगढीबाट तेजराज भट्ट

See More On

सुझावित समाचार