लालबन्दी नगरपालिका–१७, रानीगन्ज डाँडाटोलकी १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको ६ दिन बितिसकेको छ । तर, परिवारले अझै शव बुझ्न मानेको छैन । ३२ साउनमा राति ११ बजेदेखि बेपत्ता प्रियंकाको १ भदौमा लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलाको पुलभन्दा दुई किलोमिटर तल खोलामा पुरेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीका अनुसार परिवारले १ भदौमा इलाका प्रहरी कार्यालय लालबन्दीमा छोरी हराएको निवेदन दर्ता गरेको थियो । सोही दिन दिउँसो प्रहरीले घटनामा संलग्न भएको आशंकामा लालबन्दी नगरपालिका–१७, रानीगन्जका १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाललाई महोत्तरीबाट पक्राउ गरेको थियो । पक्राउ परेका युवकको बयानका आधारमा प्रियंकाको शव फेला परेको थियो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका युवकहरूले प्रियंकाको अकस्मात् निधन भएको र आफूहरूले डरले खोलामा पुरेको बयान दिएका छन् । बलात्कार भए नभएको विषय भने स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र पुष्टि हुने प्रहरीको भनाइ छ । साह र अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।
प्रहरीले प्रियंका हत्या घटनामा राजनीतिकरणको प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ । पीडित परिवारलाई ललाइफकाइ घटनालाई अतिरञ्जित गर्ने प्रयास गरिरहेको प्रहरी आरोप छ । एमाले अखिलको नेतृत्वमा घटनाको अनुसन्धानमा बाधा पुर्याइएको प्रहरीले दाबी गरेकोे छ । राजनीतिक दबाबकै कारण परिवारले शव बुझ्न मानेका छैनन् । अनेरास्ववियु जिल्ला संयोजक शिवहरि गौैतमलगायतले आन्दोलनको अगुवाइ गरिरहेका छन् । स्थानीयलाई ढाल बनाएर एमालेका विद्यार्थी संगठनका नेता कार्यकर्ताले पूर्व–पश्चिम लोकमार्गदेखि जिल्ला सदरमुकामसम्म पुगेर दिनहुँजसो विरोधका कार्यक्रम गरिरहेका छन् ।
घटनामा संलग्न भएको आशंकामा भोलिपल्टै दुईजना पक्राउ परेको र अनुसन्धान अन्तिम चरणमा पुग्नै लागेका वेला अतिरञ्जित प्रचारबाजी भएको जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । ‘यसमा लुक्ने लुकाउने कुनै कुरै छैन,’ उनले भने, ‘घटनालाई किन यसरी अन्यत्रै डोर्याइँदै छ ? हामी अचम्ममा परेका छाैँ ।’ प्रहरी निष्पक्ष छानबिनमा दत्तचित्त भएर लागेको उनले बताए । ‘घटनाका दोषी हाम्रो हिरासतमा छन् । अदालतमा पीडित परिवारलाई न्याय दिने प्रक्रिया अगाडि बढिसकेको छ । थोरै मानवीय संवेदनासमेत नदेखाएर शान्ति प्रक्रियामा खलल पुर्याउने गरी विरोध किन गरिँदै छ हामीले बुझ्न सकेका छैनौँ,’ राठौरले भने ।