बेलायतले बीस हजार अफगानीलाई शरण दिने

बुधबार, २ भदौ, २०७८
डिजिटल संस्करण

बेलायतले २० हजार अफगानी शरणार्थीलाई आफ्नो देशमा पुनर्स्थापित गराउने भएको छ। आगामी वर्षहरूमा बेलायतले विस्थापित २० हजार अफगान नागरिकलाई क्रमिक रूपमा शरण दिने प्रतिबद्धता जनाएको हो।

पहिलो वर्ष तालिवानको सम्भावित निशानामा रहेका पाँच हजार महिला, बालिका र धार्मिक अल्पसंख्यकलाई बेलायत लगिने बताइएको छ। यो योजना सिरियाली युद्धको समयमा चालिएको कदममा आधारित छ। सन् २०१४ देखि २०२१ सम्म बेलायत सरकारले २० हजार सिरियाली शरणार्थीलाई आफ्नो देश लगेको थियो।

यद्यपि, विपक्षी दलका नेताहरूले भने सरकारको योजनाको आलोचना गरेका छन्।

बेलायत एक्लैले सबै विस्थापितलाई शरण दिन नसक्ने भन्दै यहाँकी गृहसचिव प्रिती पाटेलले यसका लागि विश्व समुदायलाई आह्वान गरेकी छिन्।

यसअघि अल्बानिया, कोसोभो र उत्तर मेसाेडोनियाले अस्थायी रूपमा केही अफगानीलाई शरण दिने बताइसकेका छन्।

सुझावित समाचार