नेप्से सूचक झिनो अंकले वृद्धि हुँदा हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । कारोबारमा आउने १३ समूहका सूचकमध्ये ६ समूहका सूचकमा हरियाली छाउँदा ७ समूहका सूचक नकारात्मक बन्न पुगेका छन् । सो दिन हाइड्रोपावर समूहको सूचक २ दशमलव ४९ प्रतिशतले बढेको छ भने माइक्रो फाइनान्समा पनि लगानीकर्ता आकर्षित भएका छन् । होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा, फाइनान्स समूहको सूचक भने घटेको छ । सो दिन नेप्से परिसूचक १ दशमलव २५ अंकले बढेर ३ हजार ८१ दशमलव शून्य ७ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव २४ अंकले बढेर ५ सय ७२ दशमलव १५ बिन्दुमा पुगेको छ ।
६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
आइतबार ६ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । न्यादी ग्रुप पावर कम्पनी, सिइडिबी हाइड्रोपावर कम्पनी, रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा चमक छाएको छ । त्यसैगरी, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य पनि ८ दशमलव ८४ प्रतिशतले बढेको छ । त्यसैगरी, हिमालयन दोलखा, वरुण हाइड्रोपावर, हिमालयन ऊर्जा विकास, युनाइटेड आइडी मार्दी आरबी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ ।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २६ कम्पनीको ३ करोड ३ लाख कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । नेसनलको ३६ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३५ करोड रुपैयाँको कारोबार भएको हो । सिनर्जी पावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँ, न्यादी ग्रुप पावर कम्पनीको ३० करोड ४७ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको २९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
युनियन लाइफ र मनकामनाको सेयर सूचीकृत
युनियन लाइफ इन्स्योरेन्स र मनकामना लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । युनियन लाइफले जारी गरेको २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सोमबारबाट कम्पनीको सेयर बजारमा कारोबार हुनेछ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको ६५ लाख ५० हजार कित्ता र संस्थापकहरूको १ करोड ५० लाख ५० हजार कित्ता सेयर गरी सोबराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, मनकामना लघुवित्तको १२ लाख ११ हजार कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै सोमबारबाट उक्त कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएर खरिद–बिक्री गर्न सकिनेछ । कम्पनीको साधारण सेयर ३ लाख ८९ हजार कित्ता र संस्थापक सेयर ८ लाख २२ हजार ५ सय कित्ता सूचीकृत भएको छ ।