कोरोनाविरुद्धको खोप लगाए रोलेक्स घडीदेखि अर्पाटमेन्टसम्म

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसविरुद्ध सुरक्षित रहने एक मात्रै उपाय खोप हो । यहीकारण गत वर्षदेखि विश्वभरि नै खोप वितरण कार्यक्रम सञ्चालन भइरहेको छ । यद्यपि यो त्यति प्रभावकारी भने बन्न सकेको छैन । एक वर्षमा विश्वका चार अर्ब १० लाख मानिसले मात्रै खोपको पहिलो मात्रा लगाएका छन् ।

विश्वमा खोपको दुवै मात्रा लगाउने जम्मा एक अर्ब ११ करोड मात्रै छन् । समग्रमा विश्वभरि १४.२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् । यो तथ्यांकले के देखाउँछ भने अझै पनि मानिसहरू खोप लिन हिचकिचाइरहेका छन् । 

विभिन्न देशले आफ्ना नागरिकलाई खोप लिन आउन भनेर विभिन्न उपहार दिने र सुविधासमेत दिइरहेका छन् । बेलायत, अमेरिका तथा रुसका कही राज्यले खोप लगाउन आउने नागरिकलाई विदेश सयरको फ्रीमा टिकेट, फ्री बियरजस्ता अफर दिएका छन् । यद्यपि यो अभियान पनि खासै प्रभावकारी हुन सकेको छैन । यसैबीच हङकङले खोप लगाउन आउनेनागरिकलाई विश्व चर्चित कम्पनी रोलेक्सको घडी र टेस्ला कारसमेत उपहारस्वरूप दिने घोषणा गरेको छ । 

हङकङ सरकारले रोलेक्स घडी, टेस्लाको इलेक्ट्रोनिक कार, सुनको ब्रासलेट तथा लाखौँ रुपैयाँ उपहारमा राखेको घोषणा गरेको छ । हङकङ सरकारले बम्बर उपहारका रूपमा लक्जरियस अर्पाटमेन्ट नै दिने बताएको छ । विजेताको छिनोफानोका लागि नियम बनाएको छ । यो उपहार योजनामा सहभागी हुन कोरोनाविरुद्धको खोप लगाएकै हुनुपर्छ र लक्की ड्रमार्फत विजेता घोषणा हुनेछन् । 

खासमा हङकङले यो उपहार घोषणा गर्नुको कारण डेल्टा भेरियन्ट तीव्रगतिमा नफैलियोस् भनेर हो । पछिल्लो समय विश्वको विभिन्न देशमा डेल्टा भेरियन्ट फैलिएको छ । यसको असर हङकङमा पनि पर्न थालेको छ । हङकङ सरकारले करोडौँ रुपैयाँको उपहार राखेपछि खोप लगाउन लाइन लागेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यसअघि हङकङका निकै कम नागरिक मात्रै खोप लगाउन आएका थिए । अहिले उपहारको लोभमा उनीहरू घन्टौँ लाइनमा बसेर खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘पहिला खोप लगाउन डराएका व्यक्तिहरू पनि लाइनमा देखिएका छन्,’ हङकङको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको मुख्य कारण उपहारप्रति आकर्षित हुनु हो ।’ १० दिनयता परिवारका पूरै सदस्य खोप लिन आइरहेको स्वास्थ्य अधिकारीले बताए । हङकङमा २२ लाख ७० लाख व्यक्तिले खोप लगाइसकेका छन् । यो भनेको कुल जनसंख्याको ३० प्रतिशत हो ।

बेलायत, फ्रान्स, रुस तथा अमेरिकाका कम्पनीले पनि खोपप्रति आकर्षित गर्न थप योजना सार्वजनिक गरेका छन् । सबैजसो यी देशले खोप लगाएका व्यक्तिलाई विदेश भ्रमण गराउने तथा आइफोन दिने घोषणा गरेका छन् । यो पनि लक्की ड्रबाटै हुनेछ । अमेरिकाले सुरुमा खोप लगाउने व्यक्तिलाई फ्रीमा बियर तथा अन्तर्राष्ट्रिय हवाईटिकटमा डिसकाउन्ट दिने घोषणा गरेको थियो । 

भुटानमा ९० प्रतिशत खोप पूरा

दक्षिण एसियाली राष्ट्र भुटानमा ९० प्रतिशत नागरिकाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भुटानको जनसंख्या आठ लाख छ । गत २० जुलाईदेखि मात्र यहाँ खोप वितरण सुरु भएको हो । एक साताभित्रै सबैजसो भुटानीले कोरोनाविरुद्धको पहिलो खोप लगाएको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार भुटानमा अहिलेसम्म दुई हजार पाँच सय एकजना संक्रमित भएका छन् । जसमध्ये दुईजनाको निधन भएको छ । भुटानमा एक सय ६८ जना संक्रमितको अवस्था जोखिम रहेको छ । डब्लुएचओले भुटानको खोप अभियान अहिलेसम्मकै तीव्र भएको जनाएको छ । 

१९ हजार विदेशीले इन्डोनेसिया छाडे

एसियाली राष्ट्र इन्डोनेसियामा कोरोना भाइरस तीव्रगतिमा फैलिरहेको छ । औसतमा यहाँ दैनिक १५ सय संक्रमितको ज्यान गइरहेको छ । एसियामा कोरोनाको तेस्रो लहरको इपिसेन्टर बनेको इन्डोनेसियामा २४ घन्टाभित्र ४७ हजार सात सय ९१ व्यक्ति संक्रमित भएका छन् । कोरोनाले इन्डोनेसिया सुरक्षित नभएको भन्दै अहिलेसम्म १९ हजार विदेशी नागरिकले देश छाडेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । इन्डोनेसियामा अहिलेसम्म ३३ लाख ३१ हजार दुई सय ६ जना संक्रमित भएका छन् । कोरोनाका कारण ९० हजार पाँच सय ५२ जनाले ज्यान गुमाएका छन् । 

सुझावित समाचार