जर्मनी टोलीमा जोचिज लोउका १५ वर्ष

शुक्रबार, २५ असार, २०७८
डिजिटल संस्करण

सन् २००६ को विश्वकप फुटबल प्रतियोगिता जर्मनीले आयोजना गरेको थियो । यसवेला जोचिम लोउ जर्मनी टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा थिए । उनी दुई वर्षअघिदेखि नै सहायक प्रशिक्षकका रूपमा कार्यरत थिए । 

विश्वकपपछि जर्मन फुटबल संघले लोउलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दियो । लोउको नजरमा यो जिम्मेवारी अप्रत्यासित नै थियो । जर्गेन क्लिन्सम्यानले प्रशिक्षकका रूपमा सम्झौता नवीकरण गर्न नमानेपछि जर्मनी राष्ट्रिय टोलीमा लोउको भाग्य खुलेको हो । 

जर्मन टोली सम्हाल्नु त्यति सहज थिएन । जर्मन फुटबल टोलीले विश्व फुटबलमा सानदार प्रदर्शन गर्दै आइरहेको थियो । अझ मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जर्मनीको उपस्थिति सधैँ दमदार हुने गथ्र्यो । यही कारण आफू नेतृत्वको प्रशिक्षणपछि जर्मनीले विश्व फुटबलमा कमाएको साख रक्षा गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न प्रशिक्षक लोउले गरेका थिए । 

सबै अप्ठ्यारो प्रश्नका समाधान निकाल्दै लोउले हाँसीखुसी १५ वर्ष जर्मनी टोलीमा बिताउन सफल भए । लगभग डेढ दशकभित्र जर्मनीलाई उनले एक फरक टोली बनाए । मेजर फुटबल प्रतियोगितामा उनले जर्मनीलाई उपाधि दाबेदार मात्र बनाएनन्, उपाधिसमेत दिलाए । सन् २०१४ को विश्वकप उपाधि उनले जर्मन टोलीलाई दिलाएको सर्वाधिक ठूलो हो । 

विश्व च्याम्पियनसिप ट्रफी उचाल्न प्रशिक्षक लोउले आठ वर्ष एउटा अभियानका साथ अगाडि बढेका थिए । उनी सिनियर टोली बलियो बनाउन युवा टोलीलाई एक्सपोज गराउनुपर्छ, साथै सिनियर खेलाडीले पनि युवा खेलाडीलाई त्यत्तिकै सहयोग गर्नुपर्छ भन्ने विश्वास गर्थे । यी दुई पक्षको मिश्रणबाट नै जर्मनीले सन् १९९० पछि विश्वकप उपाधि उचाल्न सफल भएको हो । 

१५ वर्षको प्रशिक्षण करिअरमा उनले जर्मनी टोलीलाई सन् २०१० को विश्वकपमा तेस्रो, सन् २०१२ र २०१६ को युरोकपमा सेमिफाइनलसम्म पु¥याए । सन् २०१७ मा जर्मनीले कन्फडेरेसन कपसमेत जित्यो । जर्मन फुटबल इतिहासमा एक सफल प्रशिक्षकका रूपमा चिनिने लोउको बहिर्गमन भने त्यति उत्कृष्ट भएन । उत्कृष्ट खेलाडी वा प्रशिक्षकको बहिर्गमन त्यही अनुरूप हुँदैन भन्ने कथन लोउको हकमा पनि लागू भएको छ । 

चालू युरोकप नै आफ्नो अन्तिम प्रतियोगिता हुने उनले यसअघि नै भनिसकेका थिए । एकपटक युरोकप च्याम्पियन प्रशिक्षक बन्ने उनको ठूलो योजना र इच्छा थियो । तर, वेम्बलीको रंगशालामा भएको पछिल्लो खेलमा जर्मन टोली र प्रशिक्षक लोउले सोचेजस्तो भएन । यही खेलले उनीहरूको इच्छामा पूर्णविराम लाग्यो । इंग्ल्यान्डले जर्मनीलाई परास्त गरेसँगै उनीहरूको युरोकप यात्रा अन्त्य भएको हो । इंग्ल्यान्डसँग २–० ले स्तब्ध हुँदा जर्मनी प्रतियोगिताबाट मात्रै बाहिरिएन, प्रशिक्षक लोउको यात्रा पनि यहीँ टुंगियो । उनले १५ वर्षमा जर्मनीलाई एक सय ९८ पटक प्रशिक्षण दिएका छन् ।

उत्कृष्ट प्रशिक्षक

जर्मन फुटबल इतिहासमा लोउको नाम एक उत्कृष्ट प्रशिक्षकका रूपमा दर्ता भइसकेको छ । जर्मन पत्रिकाहरूले लोउको कार्यकाललाई जर्मन फुटबल इतिहासकै ‘उत्कृष्ट युग’ भनेका छन् । ‘जर्मन फुटबलमा एउटा इतिहास रचेका प्रशिक्षकको यात्रा वेम्बली रंगशालामा समाप्त भयो,’ धेरैजसो जर्मन पत्रिकाले लोउको प्रशंसा गर्दै लेखेका छन् । ६१ वर्षीय लोउले आउँदो दिनका बारेमा केही योजना नबनाएको स्पष्ट पारेका छन् । ‘तत्काल केही योजना छैन,’ उनले भने, ‘पक्कै नयाँ शक्तिका साथ म अगाडि बढ्नेछु ।’ प्रशिक्षक लोउले ब्रेक आवश्यकता भएको बताए । ‘केही काम गर्नुअघि ब्रेक चाहिन्छ, म त्यही खोजीमा छु, त्यसपछि नयाँ प्रोजेक्टमा काम गर्नेछु,’ उनले भने, ‘हेरौँ अबको बाटो कहाँ जानेछ ।’ 

एजेन्सीको सहयोगमा

सुझावित समाचार