नेकपा एमालेको १०औँ महाधिवेशन कमिटी भंग भएको छ । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरी १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले माधव नेपालसहित ११ जना नेतामाथिको कारबाही पनि फिर्ता लिएको छ ।
नेकपा एकीकरणपछि थपिएका चार स्थायी समिति सदस्यहरू बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल र रघुवीर महासेठलाई स्थायी समितिमा निरन्तरता दिन केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
भुसाल र पन्त नेपाल समूह तथा रिमाल र महासेठ ओली पक्षका हुन् । त्यस्तै, पूर्वमाओवादी समूहबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्टलाई पनि स्थायी समिति सदस्य बनाउन १८ गतेको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लैजाने निर्णय भएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए ।