एक शताब्दीअघि नै कैयौँ लेखक, दार्शनिक, अर्थशास्त्री र राजनेताले मरणासन्न भनेर घोषणा गरेको पुँजीवाद झन् पछि झन् जवान भएको प्रतीत हुन्छ । त्यो कुन सञ्जीवनी बुटी हो, जसले पुँजीवादलाई कैयौँ बल्ड्याङ पछारिँदा पनि फेरि उठेर दौडिने शक्ति प्रदान गर्छ ? कैयौँ बुटीहरू मिसाएर पुँजीवादले आफ्ना लागि सञ्जीवनी बुटी तयार पारेको छ ।
ती बुटीमध्ये एउटा बुटी हो– उपभोक्तावाद । उपभोक्तावाद एउटा त्यस्तो विचार, संस्कृति हो, जसले धेरैभन्दा धेरै वस्तु तथा सेवाको उपभोगमा जोड दिन्छ । यसरी बढेको उपभोग उपभोक्ताका लागि प्राकृतिक रूपमा आवश्यक हो वा होइन भन्ने कुरा उपभोक्तावादी संस्कृतिको सरोकारको विषय बन्दैन । उपभोक्तावाद र पुँजी सञ्चयको सम्बन्धका बारेमा चर्चा गर्नुभन्दा पहिले पुँजीको चरित्रबारे उल्लेख गर्नु उपयुक्त हुन्छ ।
ती हरेक थोक पुँजी हुन्, जसले श्रमिकबाट अतिरिक्त मूल्य निकाल्न सक्छन् र आफ्नो मूल्यलाई बढाउन सक्छन् । आत्मविस्तार पुँजीको प्रमुख विशेषता हो, जसलाई ‘माल’ र ‘मुद्रा’का रूपमा बुझ्न सकिन्छ । पुँजीपतिले उत्पादनका साधन, जस्तै– श्रम, जमिन, मेसिनरी, प्रविधिको खरिदमा मुद्राको लगानी गर्छन् । श्रमिकले आफ्नो श्रमशक्तिद्वारा उत्पादन साधनका अतिरिक्त मूल्य थप्दै नयाँ मालको उत्पादन गर्छन् । यो माल बेचेर पुँजीपतिले मुद्रा प्राप्त गर्छ । पुँजीपतिले उत्पादनका साधनमा लगानी गरेको मुद्राभन्दा उत्पादित मालको बिक्रीबाट प्राप्त मुद्रा उच्च हुनुपर्छ ।
अन्यथा पुँजीपतिले नाफा आर्जन गर्न सक्दैन । यो प्रक्रिया निरन्तर चलिरहन्छ अर्थात् ट्रेडमिल दौडिरहन्छ । पुँजीवादी व्यवस्थामा धन र नाफा आर्जनको कुनै निर्धारित सीमा हुँदैन । पुँजी र पुँजीवादी प्रणालीको स्वविस्तार प्रक्रियामा धेरैभन्दा धेरै मालहरू उत्पादन भइरहनुपर्छ र उत्पादित मालले बजार पाइरहनुपर्छ । यसो हुन सकेन भने पुँजीवादी प्रणालीमा संकट देखापर्छ ।
आफ्ना श्रमिकलाई कमभन्दा कम ज्याला र सुविधा दिन खोज्नु कुनै पनि पुँजीपतिको आमप्रवृत्ति हो । उसले श्रमिकलाई जति कम ज्याला दिन सक्यो, उसको नाफा त्यति नै बढ्छ, तर यसले श्रमिकको उपभोग र क्रयशक्ति भने घटाउँछ । त्यही पुँजीपति आफ्नो कम्पनीभन्दा बाहिरका श्रमिकको ठूलो तप्काले उसको कम्पनीले उत्पादन गरेका धेरैभन्दा धेरै माल किनेर उपभोग गरून् भन्ने अपेक्षा राख्छ ।
यही प्रवृत्तिले गर्दा उसले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकलाई धेरैभन्दा धेरै मालहरू उत्पादन गर्न लगाउँछ र यसले पुँजीवादमा गम्भीर अन्तरविरोध सिर्जना गर्छ । यो अन्तरविरोधको एउटा छेउमा धेरैभन्दा धेरै माल बेच्न ठिक्क परेका पुँजीपतिहरू हुन्छन् भने अर्काे छेउमा न्यून ज्याला र न्यून क्रयशक्ति भएका श्रमिक हुन्छन् । श्रमिकहरू आफँैले उत्पादन गरेका सबै माल किनेर उपभोग गर्न सक्दैनन्, जसले गर्दा धेरै माल नबिकेर खेर जान्छन् । यसलाई अति उत्पादनको समस्या भनिन्छ । पुँजीवादी प्रणालीमा यो संकट सबैभन्दा पहिले सन् १८२५ मा देखापरेको थियो । सन् १९३० को दशकमा यो समस्या आफ्नो समयको सबैभन्दा चरममा पुग्यो ।
त्यसपछि अर्थशास्त्री जोन मेनार्ड किन्स पुँजीवादलाई यो रोगबाट उद्धार गर्न वैद्य बनेर अगाडि सरे । अर्थतन्त्रका सबै क्षेत्र निजी क्षेत्रलाई छोड्नुहुँदैन । शिक्षा, स्वास्थ्य, यातायात आदि अत्यावश्यक क्षेत्रको जिम्मा सरकारले लिनुपर्छ भन्ने किन्सियन मान्यता हो । यसैलाई कल्याणकारी राज्यको सिद्धान्त पनि भनिन्छ ।
श्रमिकका आधारभूत आवश्यकतामा राज्यले सहयोग गर्यो भने उनीहरूको ज्यालामा बचत हुन्छ । श्रमिकहरूले त्यसरी बचाएको ज्याला निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरूको उपभोगमा खर्च गर्छन् । यसले अति उत्पादनको समस्यालाई समाधान गर्छ र पुँजीवादको संकट टर्छ भन्ने उनको मत थियो । वास्तवमा कल्याणकारी राज्यको अवधारणाले कसको कल्याण गर्छ ? पुँजीवादी प्रणालीको, पुँजीपतिको वा श्रमिकको ? कल्याणकारी राज्यलाई आदर्श ठान्नेले कल्याणकारी राज्यको अवधारणालाई निर्ममतापूर्वक समीक्षा गर्न जरुरी छ ।
किन्सियनवादमार्फत उपभोक्तावादले वैचारिक हतियार प्राप्त गर्यो । सन् १९३० पछि आर्थिक मन्दीबाट मुक्ति पाउन पुँजीवादले वैद्य किन्सले पिलाएको उपभोक्तवादी सञ्जीवनी बुटीलाई हरपल पिइरहेको छ र आफूलाई जोगाउने हरसम्भव प्रयास गरिरहेको छ । संयुक्त राज्य अमेरिकामा प्रोटेस्टेन्ट समुदायका क्रिस्चियनको बाहुल्य छ । सन् १९३० भन्दा अगाडि यो समुदायलाई मिहिनेती र कम खर्चालु मानिन्थ्यो । तर, पुँजीवादी प्रणालीले प्रवद्र्धन गरेको आक्रामक उपभोक्तावादले यो समुदायलाई बिलासी बनाइदियो । ‘रिबिल्डिङ द लेफ्टमा’ मार्ता हार्नेकर लेख्छिन्, ‘एक दशकमै संयुक्त राज्य अमेरिका उत्पादक संस्कृतिबाट उपभोक्ता संस्कृतिमा बदलियो ।’
पुँजीवादले उपभोक्तावादको तीरबाट दुइटा सिकार गर्यो । पहिलो, आफ्नो कमाइले मात्र नपुगेर ऋण र किस्ताबन्दीमा बिलासिताका सामान खरिद गर्न थाले मानिसले । यसले अतिउत्पादनको समस्यालाई एउट सीमासम्म टार्यो र पुँजी सञ्चयलाई तीव्रता दियो अर्थात् पुँजीपतिको ढुकुटी तीव्र रूपमा भरिन थाल्यो । दोस्रो, अनावश्यक उपभोग बढाउन श्रमिकले ऋण र किस्ताको भारी बोक्नुपर्ने भयो ।
ऋण र किस्ता चुक्ता गर्न उनीहरूले एक सिफ्टमा काम गरेर नपुग्ने भयो । किस्ताबन्दी ऋणको भारीले थिचिएका श्रमिकहरू सामूहिक स्वार्थका बारेमा सोच्न र ट्रेड युनियन आन्दोलनमा सहभागी हुन छाडे, जसले गर्दा ट्रेड यूनियन आन्दोलन कमजोर हुन पुग्योे । श्रमीकको ट्रेड युनियन आन्दोलन जति कमजोर हुन्छ, पुँजीवादको शक्ति र पुँजी सञ्चयको दर त्यति नै बलियो हुन्छ ।
वास्तवमा पुँजीवादी प्रणालीले आममानिसलाई उसको भूमि, उत्पादनका साधन, समाज र आफ्नो स्वत्वबाट अलग्याइरहेको छ । स्पष्ट शब्दमा भन्ने हो भने पुँजीवादले सीमित व्यक्तिको मुनाफाका लागि असीमित मानिसमा खालीपन, निराशा र असन्तुष्टिको बिउ रोपिरहेको छ ।
अहिले संसारभरिका विश्वविद्यालयमा नवशास्त्रीय अर्थशास्त्रको बोलवाला छ । यो रुढिवादी अर्थशास्त्रले मान्छेका चाहना असीमित हुन्छन् भन्ने मान्यता राख्छ । यथार्थमा मान्छेका चाहना असीमित हुँदैनन् । आमचाहना जनताको आर्थिक जीवन, उत्पादक शक्तिको अवस्था, परम्परा, सामाजिक अवस्था आदिको दायराभित्र रहन्छन् । उदाहरणका लागि आजको भौतिक, आर्थिक र प्राविधिक परिस्थितिले गर्दा पाँच कक्षामा पढ्ने केटाकेटीले मोबाइल बोक्ने चाहना राख्छन् । तर, मोबाइल बोक्नु ती केटाकेटीको आवश्यकता हो कि होइन भन्ने नै अहिलेको प्रश्न हो ।
मान्छेका चाहना असीमित भएर पुँजीवादले त्यसको पूर्ति गरिरहेको छैन कि बरु त्यसविपरीत पुँजीवादले मान्छेका चाहना आफ्नो स्वार्थअनुकूल अघि बढाउन भूमिका खेलिरहेको छ । वास्तवमा पुँजीवादी प्रणालीले आममानिसलाई उसको भूमि, उत्पादनका साधन, समाज र आफ्नो स्वत्वबाट अलग्याइरहेको छ । स्पष्ट शब्दमा भन्ने हो भने पुँजीवादले सीमित व्यक्तिको मुनाफाका लागि असीमित मानिसमा खालीपन, निराशा र असन्तुष्टिको बिउ रोपिरहेको छ ।
पुँजीवादले आममानिसका समस्याको समाधान गर्दैन र गर्न पनि सक्दैन । त्यसविपरीत यसले मान्छेको अलगावमा झन् मलजल गर्छ । मान्छेका नैराश्य र असन्तुष्टिलाई झन्–झन् बढाउँछ र त्यसैमा व्यापार गर्छ । पुँजीवादले मान्छेलाई सन्तुष्टि प्राप्तिका लागि धेरैभन्दा धेरै वस्तु किन्न प्रेरित गरिरहन्छ ।
रुढिवादी अर्थशास्त्र ढोल पिटिरहन्छ, जति धेरै वस्तुको उपभोग गर्यो, त्यति धेरै सन्तुष्टि प्राप्त हुन्छ । तर, जति धेरै सपिङ गरे पनि, जति धेरै वस्तुको उपभोग गरे पनि, मान्छेले सन्तुष्टि प्राप्त गर्न सक्दैन, किनभने उसको वरिपरिको राजनीतिक, सामाजिक र आर्थिक संकटलाई पुँजीवादले झन् झन् बल्झाइरहेको हुन्छ । तैपनि नवउदारवादका इन्जिनियर मिल्टन फ्रयाडम्यान र त्यसका राजनीतिक नेता जर्ज डब्लु बुस धेरैभन्दा धेरै सपिङमा खर्च गर्नु नै समस्याबाट पार पाउने विकल्प हो भनेर जनतालाई भ्रमित पारिरहन्छन् ।
पुँजीवादले एकाधिकारको स्वरूप ग्रहण गरेपछि मूल्यमा प्रतिस्पर्धा हुँदैन । बरु मालको आवरण, प्याकेजिङ र विज्ञापनमा भने प्रतिस्पर्धाले आकाश छुँदै जान्छ । उत्पादित सामानको बजार सुनिश्चित गर्न थुप्रै पैसा विज्ञापनमा खर्च गरिन्छ । सन् २००५ को एउटा तथ्यांकले संयुक्त राज्य अमेरिकामा प्राथमिक र माध्यमिक शिक्षामा हुने कुल खर्चभन्दा विज्ञापनमा हुने खर्च दुई गुनाले बढिरहेको देखाएको थियो ।
विज्ञापनले मानिसलाई खाने, पिउने, लगाउने, खेल्ने, सोच्ने आदि तैरतरिका बदल्न बाध्य पारिरहेको हुन्छ । उपभोक्तावादले धेरै परिमाणमा महँगो माल उपभोग गर्न मानिसलाई प्रेरित गरिरहेको त हुन्छ, तर आमश्रमिक वर्गसँग रोजगारी छ कि छैन भन्नेमा उसको कुनै चासो हुँदैन । उपभोक्तावादकै फलस्वरूप सिनेमाका नायक, नायिका र मोडेलहरू विज्ञापन मोर्चामा सैनिकका रूपमा खटिरहेका हुन्छन् । समग्रमा पुँजीवादले उनीहरूको रूपलाई मानक बनाउँछ र विभिन्न वस्तुहरूको उपभोग गरेर आममानिसलाई त्यो मानक पूरा गर्न आह्वान गरिरहेको हुन्छ ।
कम्पनीहरूले टिकाउ वस्तुहरू, जस्तै– कम्युटर, मोबाइल, टिभी, गाडी आदिको परिमार्जित संस्करण छिटो–छिटो बजारमा ल्याइरहन्छ, जसले गर्दा भर्खरै किनेका वस्तु पनि पुराना मानिन थाल्छन् । पुराना सामानलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउनुलाई भन्दा नयाँ खरिद गर्नुलाई प्रोत्साहित गरिन्छ । यसलाई नियोजित अप्रचलन भनिन्छ । यसको उद्देश्य उपभोक्तालाई छिटो–छिटो वस्तु किन्न र उपभोग गर्न बाध्य पार्नु रहेको हुन्छ ।
पुँजी सञ्चयको यो ट्रेडमिल जति तीव्र गतिमा दौडिरहेको छ, पृथ्वीको स्रोत त्यति नै तीव्र गतिमा ह्रसोन्मुख छ । बिलासी उपभोगले गर्दा फोहोर र कार्बन उत्सर्जन पनि पर्यावरणले थेग्नै नसक्ने गरी बढेको छ । अध्ययनहरूले भन्छन्, संसारका सात अर्ब मान्छेले औसत अमेरिकी मध्यम वर्गको स्तरको उपभोग गर्ने अवस्था आयो भने पृथ्वीजत्तिकै स्रोतसम्पन्न ६ वटा ग्रहको आवश्यकता पर्छ । अर्कातिर स्रोतको समान वितरण भएको खण्डमा अहिले संसारमा भइरहेको उत्पादनले नौ अर्ब मान्छेले गुणस्तरीय जीवन बाँच्न सक्छन् । त्यसैले उपभोक्तावादी पुँजीवादको यो ट्रेडमिल पर्यावरण, समाज, व्यक्तिको भविष्यका लागि हानिकारक छ । यो ट्रेडमिलको गति घटाउने मात्रै होइन, तुरुन्तै बन्द गर्न जरुरी भइसकेको छ ।