अविश्वास प्रस्तावबारे कांग्रेस अझै अस्पष्ट

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस स्पष्ट भएको छैन । बिहीबार पदाधिकारीको बैठक बसे पनि ठोस निर्णय हुन सकेन । कांग्रेससँग मात्रै अविश्वासको प्रस्ताव गर्न सांसदको संख्या पुग्दैन । संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्न कम्तीमा एकचौथाइ अर्थात् ६९ सांसदको हस्ताक्षर आवश्यक पर्छ । कांग्रेससँग अहिले ६३ (दुई निलम्बित) सांसद मात्रै छन् । ‘कांग्रेस एक्लैले त अविश्वासको प्रस्ताव नै दर्ता गर्न सक्दैन, त्यसैले नेकपा र जसपाको सहयोगमा कांग्रेसले अविश्वासको प्रस्ताव दर्ता गने विषय अघि बढेको हो,’ एक नेताले भने । 

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार गठनका विषयमा छलफल भएको भन्दै प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको बताए । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ, तर कांग्रेसले ढोका खोलेको छैन । यो प्रस्तावमा हामीले कुन रूपमा हाम्रो प्रस्तुति राख्दा ठीक हुन्छ ? भनेर हामी छलफल गरिरहेका छौँ । ठोस रूपमा कुनै निर्णय भएको छैन,’ उनले भने । 

अर्का नेता अर्जुननरसिंह केसीले संविधानमाथि नग्न आक्रमण गर्ने ओलीको विकल्प खोज्नुपर्ने वेला भएको बताए । ‘कांग्रेसले गत वैशाखमै ओली सरकारले शासन गर्ने नैतिक आधार गुमाएको निष्कर्ष निकालेको हो । अहिले संविधानमाथि भएको प्रहारको विषयमा समेत कांग्रेसले वडास्तरबाट समेत विरोध गरेको छ,’ केसीले भने, ‘ओलीको विकल्प खोज्ने विषयमा छलफल भइरहेको छ ।’ 

देउवानिकट केन्द्रीय सदस्य एनपी साउद भने अहिल्यै कांग्रेसले निर्णय लिँदा प्रत्युत्पादक हुने खतरा भएको बताउँछन् । ‘नेकपामा अन्तर्संघर्ष छ, तर सो पार्टी नै अगाडि आउन चाहेको छैन । हामीले हस्तक्षेप गर्दा बुमर्‍याङ पनि हुन सक्छ । उनीहरूको विभाजन वैधानिक नभएसम्म हामीले बोल्ने कुरा अन्योलग्रस्त नै छ । तर, हामी नेतृत्व पायौँ भने सरकारमा जाने कुरा हो,’ उनले भने । 

सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक शुक्रबार दिउँसो ३ बजे बस्दै छ । बैठकले सरकार गठनका विषयमा थप छलफल गरेर निर्णय लिने प्रवक्ता शर्माले जानकारी दिए । ‘कांग्रेसले सबै घटना, गतिविधि र नेकपाभित्रको विवादलाई गहिरोसँग हेरिरहेको छ, ती विषयमाथि विभिन्न कोणबाट छलफल पनि गरेको छ,’ प्रवक्ता शर्माले भने, ‘कांग्रेसले विवेकसम्मत् ढंगले ‘इन्जुरी टाइम’मा गोल गर्छ भनेजस्तै समय आएपछि उपयुक्त निर्णय लिन्छ ।

देउवा र ओलीबीच सहकार्य हुने सम्भावना बढेको छ । तर, कांग्रेस नेता गगन थापा भने कांग्रेसले त्यस्तो निर्णय गर्नै नसक्ने बताउँछन् । ‘जननिर्वाचित प्रतिनिधिसभालाई प्रधानमन्त्रीले लात हान्नुभएको हो । त्यसको विरुद्ध कांग्रेसले औपचारिक निर्णय गरेको हो । अझ सर्वोच्च अदालतले नै प्रधानमन्त्रीले असंवैधानिक कदम लिनुभयो भनेर ठहर गरेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब उनै व्यक्तिसँग सहकार्य गर्ने सुविधा कांग्रेसजस्तो लोकतान्त्रिक दललाई छैन । केपी ओली प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने कांग्रेसको बटमलाइन हुनुपर्छ ।’

ओलीसँग सहकार्य गर्ने सुविधा छैन : गगन थापा

देउवा र ओलीबीच सहकार्य हुने सम्भावना बढेको छ । तर, कांग्रेस नेता गगन थापा भने कांग्रेसले त्यस्तो निर्णय गर्नै नसक्ने बताउँछन् । ‘जननिर्वाचित प्रतिनिधिसभालाई प्रधानमन्त्रीले लात हान्नुभएको हो । त्यसको विरुद्ध कांग्रेसले औपचारिक निर्णय गरेको हो । अझ सर्वोच्च अदालतले नै प्रधानमन्त्रीले असंवैधानिक कदम लिनुभयो भनेर ठहर गरेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘अब उनै व्यक्तिसँग सहकार्य गर्ने सुविधा कांग्रेसजस्तो लोकतान्त्रिक दललाई छैन । केपी ओली प्रधानमन्त्री पदबाट हट्नुपर्छ भन्ने कांग्रेसको बटमलाइन हुनुपर्छ ।’

ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : पौडेल

भरतपुर -  कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपाको प्रचण्ड–माधव समूहको नेतृत्वमा नयाँ सरकार बनाउने विषयमा सकारात्मक हुन सकिने बताएका छन् । व्यवस्था र संविधान नै जोखिममा पारेकाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्न  कांग्रेसको नैतिकताले नदिने उनको भनाइ छ ।

‘कांग्रेसकै नेतृत्वमा हुनुपर्छ भन्ने छैन । यदि यस्तो भयो भने कांग्रेस अरूको खेलौना भएर भूमिकाविहीन हुन सक्छ । देशको अहिलेको संकट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसका लागि प्रचण्ड–माधव समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सकिन्छ,’ प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले भने । तर, त्यसका लागि छलफल आवश्यक रहेको उनको भनाइ छ । 

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रतिनिधिसभामा कांग्रेससँग एकचौथाइ सिट नभएको र अरूसँग मिल्नुपर्ने भएकाले सरकारमा जाँदा पनि कसरी र किन जाने भन्ने विषयमा औचित्य पुष्टि गर्नुपर्ने पौडेलको भनाइ छ । कोसँग कसरी मिल्ने भन्ने विषयमा सल्लाह भइरहेको उनले बताए । ‘यथास्थितिले देश चल्दैन, प्रतिनिधिसभाको विघटनले गर्दा फेरि नेपालको संसदीय प्रणालीमा एउटा ठूलो हल्लीखल्ली मच्चिएको छ । यसमा परिवर्तन आवश्यक छ,’ उनले भने । 

कांग्रेसले आफ्नो हैसियतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले अहिलेको संकटबाट देश र व्यवस्थालाई पार लगाउने जिम्मेवारी कांग्रेसबाहेक अरूसँग नभएको बताए । 

पौडेलले आफू प्रधानमन्त्री र राष्ट्रपति पदको आकांक्षी नभएकोसमेत बताए । ‘लोकतन्त्रका लागि लडाइँ अझै बाँकी छ, नेपालमा लोकतन्त्र अझै स्थिर भइसकेको छैन । म यो लडाइँ निरन्तर मैदानमा बसेर लड्न चाहन्छु,’ उनले भने, ‘राष्ट्रपति बनेर म आरामदायी पदमा थन्किन चाहन्नँ, म विगतमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद छाडेको मान्छे हुँ ।’ 

सुझावित समाचार