सर्वेक्षणमा भारतका कैयौँ स्थानले हर्ड इम्युनिटीको स्तर हासिल गर्न लागेको देखिएको छ
कोभिड–१९ विरुद्ध भारतको युद्ध अन्त्यतर्फ अघि बढेको छ । यो लेख लेख्नुअघिका नौ दिनमा भारतको सम्पूर्ण सक्रिय संक्रमितको संख्या दुई लाखभन्दा कम थियो । त्यस्तै १.७४ लाख संक्रमितको उपचार चलिरहेको छ । ७८ प्रतिशत बिरामी केरला, महाराष्ट्र, उत्तर प्रदेश, कर्नाटक र पश्चिम बंगालका मात्रै छन् । बिरामीहरू ठीक हुने दर बढेर ९६.९४ प्रतिशत भएको छ र मृत्युदर १.४४ प्रतिशत देखिन्छ । यसको अर्थ कोरोनाविरुद्धको भारत सरकारको तयारी राम्रो रहेको मान्नुपर्छ । राम्रो तयारीका कारण भारतले धेरै जीवन बचाउन सफलता हासिल गर्यो ।
यसबीच भारत सरकारले कोरोना महामारीको समयमा पालना गर्नुपर्ने नयाँ निर्देशिका जारी गर्यो । जसअनुसार फिल्म हललाई ५० प्रतिशतभन्दा बढी क्षमतामा सञ्चालन गर्न अनुमति दिइएको छ । त्यस्तै स्विमिङ पुल सबैका लागि खोलिएको छ । यसअघि खेलाडीका लागि मात्र खुला गरिएको थियो । फिल्म हललाई ५० प्रतिशतभन्दा बढी क्षमताका साथ खोलिदिँदा संक्रमण दरमा केही वृद्धि देखिएको थियो । तर, अहिले स्थिति नियन्त्रणमा आएको छ । जहाँसम्म स्विमिङ पुलको प्रयोगको कुरा छ, तिनको प्रयोग यो जाडोमा त्यति हुँदैन । मार्च–अप्रिलपछि मात्र तिनको प्रयोग बढ्ने हुँदा ती खुलेर खासै फरक पर्ने देखिँदैन ।
हामी ‘न्यु नर्मल’तर्फ अघि बढिरहेका छौँ, तर यसको मतलब महामारी अन्त्य भयो भन्ने होइन । संसारको कुनै पनि हिस्सामा संक्रामक रोगको अवशेष बाँकी रहँदासम्म अर्को हिस्सा जोखिममा हुन्छ । त्यसैले सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
कोरोनाविरुद्धको युद्धमा दिल्ली राज्य एक उदाहरण बनेको देखियो । यहाँ जनवरी महिनामा ६ दिन २०० भन्दा कम नयाँ संक्रमित पहिचान भयो । दिल्लीको स्वास्थ्य विभागले राज्य सरकारको अधीनमा रहेका सबै अस्पतालमा सर्जरीको साथसाथै ओपिडी सेवा सुरु गरेको छ । विभिन्न रोगका बिरामीले यसबाट राहत महसुस गरेका छन् । दिल्लीमा शिक्षण संस्थान पनि खोल्ने तयारी चलिरहेको छ । हामी निश्चित रूपमा ‘न्यु नर्मल’तर्फ अघि बढिरहेका छौँ, तर यसको मतलब महामारी अन्त्य भयो भन्ने होइन । संसारको कुनै पनि हिस्सामा संक्रामक रोगको अवशेष बाँकी रहँदासम्म अर्को हिस्सा जोखिममा हुन्छ । त्यसैले सावधानी अपनाउनु उपयुक्त हुन्छ । मास्कको प्रयोग, दुई मिटरको भौतिक दूरी कायम गर्ने र नियमित हात धुने काम अहिले पनि जारी राख्नुपर्छ । खोप लगाउनु पनि उत्तिकै महत्वपूर्ण छ । अहिले स्वास्थ्यकर्मी र प्राथमिकता सूचीमा रहेका मानिसलाई खोप लगाइने काम भइरहेको छ ।
भारतका कैयौँ स्थानमा समाजको ठूला संख्या संक्रमित भएपछि हर्ड इम्युनिटीको स्तर हासिल हुन लागेको देखिएको छ । एक सर्वेक्षणअनुसार ५० प्रतिशत दिल्लीवासीमा भाइरस प्रतिरोधी क्षमता देखिएको छ । विज्ञहरूका अनुसार समाजका अधिकांश मानिसमा भाइरसविरुद्ध ‘इम्युनिटी’ बढेपछि यो महामारी लगभग अन्त्य भएको मानिनेछ । दिल्लीको जस्तै स्थिति अन्यत्रको पनि छ । मुम्बईको धाराबीजस्ता क्षेत्रमा विगतमा तीव्र गतिमा संक्रमण फैलिएको देखिएको थियो । त्यहाँ पनि सेप्टेम्बरको सर्वेक्षणमा ४५–५० प्रतिशतमा एन्टिबडी देखिएको थियो । अहिले यो क्षेत्रमा संक्रमणको फैलावटमा नियन्त्रण आएको छ । अहिले जुन ठाउँमा नयाँ संक्रमण फैलिरहेको छ, त्यो पहिले संक्रमण नदेखिएका स्थान हुन् ।
खासमा हरेक महामारीमा एउटा वक्ररेखा हुन्छ । अर्थात् दैनिक संक्रमितहरूको संख्या समावेश हुने ग्राफ वक्र आकारको बन्छ । यो ग्राफमा यहाँको महामारी सेप्टेम्बर–अक्टोबरमा सबैभन्दा चुलीमा पुगेको थियो । त्यसपछि ग्राफमा लगातार ह्रास आउन थाल्यो । नोभेम्बरको पर्वको मौसममा संक्रमण केही बढेको भए पनि पछि त्यसमा सुधार देखियो ।
खोप अभियान र जीवनशैलीको बदलावबाहेक पनि हामीले समाजका अन्य पक्षमा पनि ध्यान दिन आवश्यक छ । जस्तो– धेरै आवादीयुक्त वस्तीमा संक्रमणको दर तीव्र हुन्छ । सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । जहाँसम्म मास्क र स्यानिटाइजरको प्रयोगको कुरा छ, कुनै पनि रसायनको लामो समयको प्रयोग हानिकारक हुन्छ । खासमा पानी र साबुन उपलब्ध नभएको अवस्थामा मात्र स्यानिटाइजरको प्रयोग गर्नु उचित हुन्छ । मास्क हामीले आफ्ना लागि मात्र होइन, अरूको लागि पनि लगाउन आवश्यक छ । संक्रमणको लक्षण देखिँदा हामीले मास्क लगायौँ भने संक्रमणको प्रसार मात्रै कम हुँदैन, अर्कोको सुरक्षा पनि हुन्छ । आफ्नालाई सुरक्षित राखेर नै हामी आफ्नो ज्यान बचाउन सक्छौँ ।
(लेखक वरिष्ठ सामुदायिक स्वास्थ्य विशेषज्ञ हुन्)
हिन्दुस्तानबाट