यसअघि गरेका विकास र समृद्धिका वाचा भने अधुरै
प्रधानमन्त्री केपी शर्मा ओलीले सिराहावासीलाई पुनः एकपटक आश्वासनका पोका बाँडेका छन् । सहिद हेमनारायण यादवको १७औँ स्मृतिसभामा सहभागी हुन सोमबार सिराहा आएका प्रधानमन्त्रीले विकास र समृद्धिका अनेक आश्वासन दिए । प्रधानमन्त्री भएपछि उनी तेस्रोपटक सिराहा पुगेका हुन् । यसअघि उनले दिएका अधिकांश आश्वासन कार्यान्वयन नभएकाले यसपटकको आश्वासनबाट सिराहावासी खासै उत्साही देखिएनन् ।
प्रधानमन्त्री ओलीले सोमबार आयोजनास्थल सिराहा क्याम्पस र छात्रावास भवनलाई नयाँ बनाउने प्रतिबद्धता जनाए । कृषिको आधुनिकीकरण र व्यवसायीकरण, हरेक प्रदेशमा औद्योगिक क्षेत्र, हरेक पालिकामा ग्रामीण औद्योगीकरणको काम सरकारको विशेष प्राथमिकतामा रहेको दाबी गरे ।
‘विकास निर्माणको कामलाई अगाडि बढाउनु छ । सुशासन कायम राख्नु छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासको काममा अब ढिलाइ गर्न सक्दैनौँ । तराईको सिँचाइ गर्न सुनकोसी मरिन डाइभर्सन गरेर तराईको खेत र फाँटहरूमा सिँचाइ पुर्याउने काम अगाडि बढाउँदै छौँ । तुरुन्तै शिलान्यास हुँदै छ । निगगढमा विमानस्थल बनाउँदै छौँ, फास्ट ट्र्याक बनाउँदै छौँ ।’ पहिलोपटक सिराहा आउँदा पनि प्रधानमन्त्री ओलीले सुनकोसी कमला मरिन डाइभर्सन बनाएर सिँचाइ सुरु गर्ने उद्घोष गरेका थिए ।
हुलाकी राजमार्ग धेरै मात्रामा पूरा भइसकेको प्रधानमन्त्रीको भनाइ थियो । ‘पुलहरू बनिसकेका छन्,’ ओलीले भने, ‘तपाईंहरूले देख्नुभएकै छ । हुलाकी राजमार्ग निर्माण भइरहेको छ ।’ तर, प्रधानमन्त्रीले भनेझैँ न त कमला र बलान नदीका पुल निर्माण पूरा भएको छ, न हुलाकी सडकको सिराहा खण्ड कालोपत्रे भएको छ ।
‘अन्यत्रबाट यहाँ अन्न ल्याउने होइन, यहाँको अन्न अन्यत्र भित्र्याउने हो,’ प्रधानमन्त्रीले अझ अगाडि थपे, ‘त्यसका लागि सिँचाइको प्रबन्ध गरिनेछ र कृषिलाई आधुनिकीकरण गर्दै नेपाललाई अन्न, फलफूल, औषधि, जडीबुटी निर्यात गर्ने देशको रूपमा परिणत गरिनेछ ।’ उनले नवलपरासीमा ठूलो फलामखानी स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै अब नेपालमै स्टिल, फलाम, रड–छड र कृषिऔजार उत्पादन हुने दाबी गरे । सरकार कृषि मल कारखाना स्थापना गर्ने अभियानमा लागेकाले कृषि मल देशमै उत्पादन गरिने उनले बताए ।
संकटमा देखिएन अभिभावकत्व
सरकारले चलाएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले खत्वे र डोम समुदायका दुईजना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । रूपाकुमारी मण्डल खत्वे र पवन मल्लिक डोमकोे अभिभावकत्व ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले भनेका थिए, ‘म दावाको साथ भन्छु, यिनीहरू २० वर्षपछि इन्जिनियर, डाक्टर, सिइओ वा पाइलट बन्नेछन् ।’
उनीहरूलाई प्रधानमन्त्रीले विद्यालय पोसाक, कापी र झोला दिएका थिए । तर, त्यसपछि भने प्रधानमन्त्रीको तर्फबाट अभिभावकत्व देखिएन । झन् कोरोना महामारीको समयमा समेत प्रधानमन्त्रीको मनमा ती विपन्न बालबालिका आएनन् । कोरोना महामारीले विद्यालय बन्द भयो, लकडाउनले परिवारको सामान्य गुजाराको बाटो पनि अन्त्य भयो । कैयौँ विद्यालयले अनलाइनबाट पठनपाठन थाले । विद्यार्थीले कम्प्युटर वा मोबाइलबाट अनलाइन कक्षाको लाभ लिए । तर, प्रधानमन्त्रीले अभिभावकत्व लिएका रूपा र पवन यो सुविधाबाट वञ्चित रहे । ती बालबालिकाले यो अवधि बाख्रा, सुँगुर चराएर बिताए ।
पवन मल्लिकको घर पुग्दा उनी दाजुभाइसँग क्यारेम खेलिरहेका भेटिए । पवनका बुबा भोगेन्द्र र आमा अमिराले कोरोनाकालमा कसैले वास्ता नगरेको गुनासो नयाँ पत्रिकाकर्मीलाई सुनाए । सोमबार पुनः सिराहा पुगेका प्रधानमन्त्री ओलीले रूपा र पवनबारे सोधखोज गरेनन् । बरु, बालबालिकाहरू अब कक्षाकोठामै आउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै अब कम्प्युटर र ल्यापटपबाट पढ्ने अवस्था सुनिश्चित हुँदै गएको दाबी गरे ।
कमला र बलान पुल उद्घाटन गर्ने घोषणा उधारै
ठीक एक वर्षअघि सिराहा आउँदा प्रधानमन्त्री ओलीले ‘कमला र बलान पुल’ निर्माण सम्पन्न गरी २ वैशाख ०७७ मा उद्घाटन गर्ने घोषणा गरेका थिए । यो घोषणा पनि अधुरै रह्यो । कमला नदी र बलान नदीका पुलको काम करिब ८५ प्रतिशत मात्र सकिएको छ । केही स्पानमा स्ल्याब ढलान र रिभर ट्रेनिङलगायतका काम बाँकी रहेकाले निर्माण सम्पन्न हुन अझै समय लाग्ने हुलाकी सडक आयोजनाका इन्जिनियर जयनाथ यादवले बताए ।
हुलाकी सडकमा सामान्य प्रगति
प्रधानमन्त्री ओलीले विशेष बजेट व्यवस्था गरिएकाले हुलाकी सडक निर्माण युद्धस्तरमा गरिने दाबी गरेका थिए । ‘युद्धस्तरमा हुलाकी राजमार्ग र पुल बनाइन्छ । ०७७ वैशाख २ गते उद्घाटन हुने गरी पुलको काम र राजमार्गले तीव्रता पाउँछ,’ उनको भनाइ थियो । तर, यो अवधिमा हुलाकी सडकअन्तर्गत सिराहा खण्ड (३२ किलोमिटर) को काम मध्यम गतिमा चलिरहेको छ । ४२–४३ प्रतिशत हुलाकी सडक निर्माण मात्र पूरा भएको आयोजनाका इन्जिनियर यादवको भनाइ छ ।
छात्रावासलाई बजेटै गएन
त्यसवेला प्रधानमन्त्रीले चन्द्र माध्यमिक विद्यालय सिराहामा पाँचतलाको सुविधासम्पन्न छात्रावास भवनको शिलान्यास गरेका थिए । बजेट अभाव हुन नदिने उनको भनाइ थियो । प्रतिबद्धताअनुसार नै शिलान्यास गरिएको वर्ष ७२ लाख र अर्को वर्ष सरकारले ३५ लाख रुपैयाँ बजेट पनि दियो । तर, चालू आर्थिक वर्षमा बजेट गएन । पाँच करोड लागतमा ५०–५० छात्रछात्रा बस्ने अडिटोरियम हलसहितको सुविधासम्पन्न छात्रावासको जम्मा २२ प्रतिशत मात्र काम हुन सक्यो ।
आँप प्रशोधन केन्द्र बनेन
सिराहाको आँप स्वादिष्ट र लोेकप्रिय मानिन्छ । त्यही भएर प्रधानमन्त्री ओलीले १५औँ स्मृति दिवसको अवसरमा सिराहाको आँपलाई विश्व बजारमा पुर्याउन प्रशोधन केन्द्र स्थापना गर्ने उद्घोष गरेका थिए । नक्कली र रसायन मिलाइएको जुस खानुभन्दा सिराहाको माल्द आँप उत्तम भन्दै त्यसलाई विश्व बजारमा पु¥याउने, अचार, जुसलगायतका सामग्री निर्माण गर्ने गरी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेका थिए । उद्घोष गरेको दुई वर्षमा प्रशोधन केन्द्र निर्माणको सुरुआतसमेत हुन सकेन ।
प्रदेश २ मा पहिलो चरणमै चुनाव
प्रधानमन्त्री ओलीले प्रदेश २ मा १७ वैशाखमै निर्वाचन हुने बताए । ‘निर्वाचन घोषणा गरिसकिएको छ, निर्वाचन आयोगले त्यसको तयारी गरिरहेको छ,’ ओलीले भने, ‘प्रदेश २ मा पहिलो चरणमै १७ वैशाखमा निर्वाचन हुनेछ । तपाईंहरू भोट हाल्न तयार भएर बस्नुहोला ।’ उनले यो देशमा जनता ठग्ने विकासविरोधी, देशभक्ति नभएका, देशका विरुद्ध षड्यन्त्र गर्ने भ्रष्ट तत्वहरूलाई आगामी निर्वाचनबाट बिदा गरिने उनले जिकिर गरे । शान्ति सुरक्षा, सुशासन, विकासको पक्षमा आउने शक्तिलाई साथ दिन उनले आग्रह गरे ।
उनले संसद् विघटन संवैधानिक भएकाले पुनस्र्थापना नहुने भन्दै निर्वाचन नै हुने दाबी गरे । ‘विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने अनि पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्ववसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुँदैन,’ ओलीले भने, ‘अब जनताको आदेश, जनादेशबाट सुदृढ सरकार बनाउनुपर्दछ । किनबेचवाला सरकार होइन ।’
प्रधानमन्त्री ओली ५ वैशाख ०७५ मा पहिलोपटक सिराहा आएका थिए । कल्याणपुर नगरपालिकामा रहेको रामदुलारी जनता माध्यमिक विद्यालयमा आयोजित ‘अभिभावकत्व ग्रहण’ समारोहमा सहभागी भएका ओलीले दुई विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । दुई वर्षअघि १९ माघ ०७५ मा दोस्रोपटक प्रधानमन्त्री ओली सदरमुकाम सिराहा आएका थिए । त्यसवेला सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सम्बोधन गरेका थिए । त्यसक्रममा पाँचतले सुविधासम्पन्न छात्रावास र नेकपाको जिल्ला पार्टी कार्यालय भवन निर्माणको शिलान्यास गरेका थिए । तर, ती कुनै पनि काम पूरा भएनन् ।