दलितलाई आरक्षण इतिहासको हर्जाना हो

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

सवर्णको वर्चस्व र हितलाई मात्र ध्यानमा राखेर आरक्षण रोक्ने माग इतिहासविरोधी र अन्यायपूर्ण छ

भारतीय जनता पार्टीकी सांसद प्रज्ञा ठाकुरले केही समयअघि भनिन्, ‘शूद्रलाई शूद्र भनिदिनुस्, नराम्रो मान्छन्, के कारण हो ? उनीहरूको अज्ञानता, मैले बुझ्न सकेको छैन ।’ प्रज्ञाले ब्राह्मण, क्षेत्री र वैश्यलाई जातिगत सम्बोधन गर्दा नराम्रो नमान्ने तर शूद्रलाई जातिको नामबाट बोलाउँदा नराम्रो मान्ने बताएकी थिइन् । त्यससँगै उनले आरक्षण जातिगत आधारमा नभई आर्थिक आधारमा हुनुपर्ने तर्क गरिन् । 

सांसद प्रज्ञासँग मेरा केही प्रश्न छन् । यदि सवर्ण जातिलाई गाउँभन्दा बाहिर राख्ने र शूद्रलाई मात्र बस्तीको केन्द्रमा राखियो भने ब्राह्मण, क्षेत्री र वैश्यलाई कस्तो अनुभव हुन्छ ? के भारतमा कथित उच्च जातिका मानिसले सामाजिक बहिष्कारको डसाइ सहनुपरेको छ ? कहिल्यै उनीहरू मुख्य धारबाट बहिष्कृत भएका छन् ? के उनीहरूले कहिल्यै आन्तरिक सांस्कृतिक र आर्थिक उपनिवेशको सामना गरेका छन् ? जातीय उत्पीडनको सामना गर्नुपरेको छ ?

सवर्णका मानिसले दलितसँग गर्ने व्यवहार कति बर्बरतापूर्ण हुन्छ, इतिहास हेर्नुहोस् । केरलाको त्रावणकोर राज्यमा दलित महिलालाई आफ्नो छाती छोप्ने अनुमति थिएन । दलितहरू कथित उच्च जातिका मानिसको बस्तीबाट हिँड्न पाउँदैनथे । सफा लुगा लगाउन र ब्राह्मण क्षेत्रीको अगाडि कुर्सी मुढामा बस्न पाउँदैनथे । केही दिनअघि मात्र भारतमा कथित उच्च जातका तीन युवकले दलित युवकसँग विवाह गरेकी हुनाले आफ्नी बहिनीको हत्या गरेका थिए । 

उनीहरूले आफ्नी बहिनीको शव जमिनमा गाडिदिए । केही दिनपछि जमिनबाट निकालेर मृतकको सनाखत गरियो । के यसलाई शूद्र जातिको अज्ञानता भन्ने ? भारतमा दलित जातिका बेहुलालाई घोडामा चढेर मुख्य बाटोबाट निक्लिन दिइँदैन । प्रहरीको संरक्षणमा जन्ती निकाल्ने गरिन्छ । सवर्ण समुदायलाई पनि जातीय आधारमा यस्ता अमानवीय घटनाको सामना बारम्बार गर्नुपरेको भए उनीहरूलाई पनि जातिगत सम्बोधन पक्कै नराम्रो लाग्थ्यो ।

गाउँमा आज पनि दलित बस्ती मुख्य गाउँभन्दा बाहिर हुने गर्छ । सत्तरी वर्ष पहिला पनि दलितहरूको स्थान त्यहीँ थियो, यस्तो किन भयो ? डा अम्बेडकरले राजनीतिक स्वतन्त्रताभन्दा सामाजिक स्वतन्त्रता धेरै आवश्यक छ त्यसै भनेका थिएनन् ।

पछिल्लो समय म परिवारसँग गाउँ गएको थिएँ । गाउँमा आज पनि दलित बस्ती मुख्य गाउँभन्दा बाहिर हुने गर्छ । सत्तरी वर्ष पहिला पनि दलितहरूको स्थान त्यहीँ थियो, यस्तो किन भयो ? डा अम्बेडकरले राजनीतिक स्वतन्त्रताभन्दा सामाजिक स्वतन्त्रता धेरै आवश्यक छ त्यसै भनेका थिएनन् । प्रज्ञाजी आफू केवल व्यक्ति मात्र नभएर निर्वाचित सांसद पनि हो भन्ने कुरा भुलिदिन्छिन् । उनी आफूले भारतीय संविधानको शपथ लिएको कुरा बिर्सिन्छिन् । उनी वर्ण–व्यवस्थामा कसरी विश्वास गर्न सक्छिन् ? भारतीय जातिलाई चार जातिमा विभाजन गर्न उनलाई संविधानको शपथले दिँदैन । 

उनलाई संविधानमा आरक्षणको प्रावधान ऐतिहासिक आधारमा गरिएको हो भन्ने थाहा हुनुपर्ने हो । लामो समय शूद्र र आदिवासीले सामाजिक बहिष्कार र अन्यायको चोट झेलेका छन् । त्यही ऐतिहासिक चोटमा मलम लगाउनका लागि नै आरक्षणको प्रावधान गरिएको हो भन्ने कुरा उनले बुझ्नुपर्छ । 

आरक्षणका लागि आर्थिक आधार स्विकार्ने प्रावधान बनाउनु उचित हो । तर, आर्थिक आधारमा आरक्षण दिने नाममा अहिले भएको जातीय आरक्षणको व्यवस्थालाई हटाउन मिल्दैन । के हजारौँ वर्षदेखि हुँदै आएको अन्याय, अमानवीयताको निराकरण ७०–७५ वर्षमा गर्न सकिन्छ ? आरक्षण व्यवस्थाको नाममा भइरहेको दुरुपयोग रोक्न र यसलाई अझै न्यायसंगत बनाउन जरुरी छ । तर, सवर्णको वर्चस्व र हितलाई मात्र ध्यानमा राखेर आरक्षण रोक्ने माग इतिहासविरोधी र अन्यायपूर्ण छ । 

अर्को प्रसंगमा प्रज्ञाजीले जनसंख्या नियन्त्रण राष्ट्रविरोधी गतिविधिमा संलग्न हुने मानिसका लागि मात्र आवश्यक रहेको बताएकी छिन् । देशका लागि बाँच्ने मानिसका लागि जनसंख्या नियन्त्रणको कानुन लागू हुन आवश्यक नभएको उनले बताइन् । प्रज्ञाले राष्ट्रविरोधी कसलाई भन्न खोजेकी हुन् भन्ने कुरा स्पष्ट छ । उनले क्षेत्रीले धेरै बच्चा जन्माउनुलाई आफ्नो कर्तव्य सम्झिनुपर्ने र उनीहरूलाई देशका लागि लड्न सेनामा पठाउनुपर्ने उपदेश पनि दिएकी छिन् । उनको यो भनाइ हदैसम्मको महिलाविरोधी छ । के महिला बच्चा जन्माउनकै लागि बनेका हुन् ? 

देशको स्रोत–साधनमा जनसंख्याको विस्फोटले निकै कठिन अवस्था सिर्जना गरेको छ । देशमा शिशु मृत्युदर निकै भयावह छ । कुपोषणले धेरै मानिस मरिरहेका छन् । प्रदूषणले पनि घातक रोगहरू निम्त्याइरहेका छन् । सांसद प्रज्ञालाई थाहा हुनुपर्ने हो । प्रज्ञाको निर्वाचन क्षेत्र मध्यप्रदेशलाई आज पनि किन ‘बिमारु प्रदेश’ भनिन्छ ? कारण खोज्नुहोस् । 

(जोशी भारतका वरिष्ठ पत्रकार हुन्)
मिडियाभिजिलबाट

सुझावित समाचार