अमेरिकाले सहुलियतपूर्ण पहुँच दिएका वस्तुको निर्यात ४ प्रतिशत मात्रै

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

नेपालबाट हुने निर्यातमा अमेरिकाले ७७ वस्तुलाई सहुलियत दिएको छ, तर निर्यात हुने प्रमुख वस्तुमा भने सहुलियत पाउनबाट नेपाल वञ्चित

अमेरिकाले दिएको विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) सुविधाबाट नेपालले लाभ लिन नसकेको देखिएको छ । फागुन २०७२ मा अमेरिकाले नेपाललाई विशेष व्यापार ग्राह्यता दिने कानुन ल्याएर ६६ वस्तुलाई भन्साररहित सुविधा दिएको थियो । त्यसको एक वर्षपछि अमेरिकाले थप ११ नेपाली वस्तुलाई भन्साररहित सुविधा दियो । तर, विशेष ग्राह्यता सुविधा पाएको पाँच वर्ष पुग्नै लाग्दासमेत नेपालले अमेरिकाले दिएको सुविधाअनुसार निर्यात बढाउन सकेको छैन ।

सन्तुलनमा रहेको व्यापारसमेत घाटामा पुगेको छ । तर, नेपालबाट निर्यातको सम्भावना भएका वस्तुहरूमा अमेरिकाले सहुलियत नदिएको नेपाल तयारी पोसाक उत्पादक संघका प्रमुख कार्यकारी अधिकृत राजेश लामिछानेले बताए । सोही कारण अमेरिकातर्फ निर्यात बढ्न नसकेको उनको भनाइ छ । ‘अमेरिकामा नेपाली तयारी पोसाक निर्यातको सम्भावना धेरै छ, तर बढी माग हुने वस्तुमा सहुलियत छैन,’ उनले भने, ‘हामीले सहुलियत हुँदैको वर्षदेखि उठाउँदै आएको माग अझै पनि सम्बोधन भएको छैन ।’

नेपालबाट निर्यात हुने सललगायतका वस्तुले सहुलियत पाएको छ भने स्वेटरलगायतका हातले बुन्ने सामग्रीले सहुलियत नपाएको पस्मिना उत्पादक संघका अध्यक्ष दुर्गाविक्रम थापाले बताए । एउटै कच्चा पदार्थले बनेका उत्पादनमा पनि फरक व्यवहार गरेका कारण नेपालको निर्यात बढ्न नसकेको उनले बताए । 

अमेरिकाले भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सघाउने भन्दै फागुन २०७२ मा विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स) दिने कानुन ल्याएर नेपाली उत्पादनलाई अमेरिकी बजारमा सहज पहुँच दिएको थियो । तर, बजार पहुँच पाए पनि नेपालले उल्लेखनीय दरमा निर्यात बढाउन नसकेको तथ्यांकले देखाउँछ । जबकि अमेरिकाबाट नेपालमा हुने आयात भने उच्चदरमा बढेको छ ।

व्यापार ग्राह्यता दिन सुरु गरेको आर्थिक वर्ष ०७२/७३ मा नेपालले अमेरिकामा ९ अर्ब २० करोड रुपैयाँबराबरको निर्यात गरेर ८ अर्ब ५९ करोडको आयात गरेको थियो । त्यसको चार वर्षपछि आर्थिक वर्ष ०७६/७७ मा नेपालले अमेरिकामा ९ अर्ब ४४ करोडको निर्यात गरेर २३ अर्ब ५४ करोडको आयात गरेको छ । पाँच वर्षअघि ६१ करोड रुपैयाँ नाफामा रहेको अमेरिकासँगको व्यापार गत आवमा आइपुग्दा १४ अर्ब १० करोड रुपैयाँ नोक्सानमा पुगेको छ । 

ग्राह्यता पाएका वस्तुकै निर्यात कमजोर 
नेपालले व्यापार ग्राह्यता सुविधा पाएका वस्तुको निर्यात नै कमजोर रहेको सरकारी तथ्यांकले देखाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अमेरिकामा हुने कुल निर्यातमा भन्सार सुविधा पाएका ७७ वस्तुको हिस्सा जम्मा ३.८ प्रतिशत मात्रै छ । भन्सार छुट सुविधा पाएका वस्तुको पछिल्ला पाँच वर्षको निर्यात निराशाजनक रहेको वाणिज्य सचिव वैकुण्ठ अर्यालले बताए ।

यद्यपि, सरकारले निर्यात बढाउने विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । ‘अमेरिकातर्फ हुने नेपालको कुल निर्यातमा भन्सार सुविधा पाएका ७७ वस्तुको जम्मा हिस्सा ४ प्रतिशत पनि रहेनछ, यसबारे हामीले अमेरिकालाई पनि जानकारी गरायौँ,’ उनले भने, ‘नेपालले पनि निर्यात प्रवद्र्धनका नीति र कार्यक्रम चलाइरहेको छ, अमेरिकाले पनि ७७ वस्तुको विकास तथा निर्यात प्रवर्द्धनमा सघाउने प्रतिबद्धता गरेको छ ।’ 

अब पाँच वर्ष म्याद बाँकी
बितेका पाँच वर्षमा नेपालले भन्साररहित सुविधाबाट लाभ लिन नसकेको सरकारले पनि स्वीकार गरेको छ । व्यापार ग्राह्यता सुविधाको म्याद ३१ डिसेम्बर २०२५ सम्म रहेको छ । बाँकी पाँच वर्षभित्र ७७ वस्तुको निर्यात बढाउन अमेरिकाको समेत सहयोगमा वस्तु विकासदेखि गुणस्तर वृद्धि, प्याकेजिङलगायत कार्यक्रम सञ्चालन गरिने सचिव अर्यालले बताए । ‘बितेका पाँच वर्षमा हामीले प्राप्त सुविधाको लाभ लिन सकेको देखिँदैन, अबका पाँच वर्षमा भने त्यसको उपयोग गर्नैपर्छ, त्यसका लागि निजी क्षेत्रले समेत आफूलाई विकास गर्नुपर्छ ।’

निर्यातमूलक वस्तुको विकासमा सघाउन अमेरिका तयार
नेपालको निर्यातमूलक वस्तुको विकासमा सघाउन अमेरिका सकारात्मक देखिएको छ । खासगरी अमेरिकामा निर्यात हुने नेपाली वस्तुको उत्पादन वृद्धि, गुणस्तर कायम, प्याकेजिङलगायतमा प्राविधिक सहयोग गर्न अमेरिका तयार भएको हो । नेपाल र अमेरिकाबीच गठित टे«ड एन्ड इन्भेस्टमेन्ट एग्रिमेन्ट (टिफा) काउन्सिलको मंगलबार सम्पन्न पाँचौँ बैठकमा नेपाली निर्यातमूलक वस्तुको विकासमा अमेरिकाले सघाउने विषयमा समझदारी भएको हो । अमेरिकाले नेपालका ७७ वस्तुको निकासीमा शून्य भन्सारको सुविधा दिएको छ । तर, यी वस्तुको निर्यात भने बढ्न सकेको छैन । 

नेपालले अमेरिकी बजारमा सहज पहुँच पाएका ७७ वस्तुको उत्पादन वृद्धि, गुणस्तर कायम तथा प्याकेजिङलगायतमा प्राविधिक सहयोग गर्न अमेरिकालाई प्रस्ताव गरेको थियो । नेपालको उक्त प्रस्तावमा अमेरिका सहमत भएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले बताए । ‘अमेरिकाले हाम्रा ७७ वस्तुको निकासीमा सहुलियत दिएको छ, तर ती वस्तुको निर्यात भने अत्यन्त न्यून छ, अमेरिकामा हुने कुल निर्यातमा ती वस्तुको हिस्सा ३.८ प्रतिशत मात्रै छ,’ नेपाली वार्ता पक्षका संयोजक अर्यालले भने, ‘त्यसैले हामीले सहुलियत पाएका ती वस्तुको विकास र निर्यात वृद्धिका लागि कन्सेप्ट तयार पारेर प्रस्ताव गरेका छौँ, उहाँहरू त्यसमा सहमत देखिनुभएको छ ।’

सुझावित समाचार