तिहारमा मौसमले साथ दिने : चिसो बढ्दै जाने, तराईमा हुस्सु थपिँदै जाने

बिहिबार, १९ कार्तिक, २०८३
प्रिन्ट संस्करण

यस वर्ष तिहारका पाँच दिन देशभरको मौसममा ठुलो उतारचढाव देखिनेछैन । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कागतिहारदेखि भाइटीका (शनिबारदेखि बुधबार)सम्म देशभर मौसम अनुकूल रहने अनुमान छ । तर, हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले एक सातासम्म ठुलो मौसमी प्रणाली आउने सम्भावना नरहेकाले तिहारमा मौसम अनुकूल रहने बताए । ‘तिहार र त्यस आसपासको अवधिमा ठुलो पानी पर्ने सम्भावना छैन । बरु चिसो बढ्दै जाने र बिहानपख तराई, उपत्यका तथा खोँचमा हुस्सु लाग्ने देखिन्छ,’ उनले भने, ‘पश्चिमी वायुका कारण हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्छ । कतैकतै हल्का वर्षा र हिमपात भए पनि ठुलो वर्षाको सम्भावना छैन ।’

बिहानपख तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने देखिएको छ । 

कुन दिन कस्तो रहन्छ मौसम ?

शनिबार (कागतिहार) : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र र देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ ।

आइतबार (लक्ष्मीपूजा) : हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ । तराईमा मौसम मुख्यतया सफा रहनेछ । बिहान तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्छ ।

सोमबार (औँसी) : हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ । हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । तराईमा मौसम मुख्यतया सफा रहनेछ भने बिहान केही स्थानमा हुस्सु तथा कुहिरो लाग्न सक्छ ।

मंगलबार (गोवर्द्धन पूजा) : हिमाली तथा पहाडी भूभाग र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ ।

बुधबार (भाइटीका) : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ । हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । तराई, उपत्यका र खोँचका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्छ ।

सुझावित समाचार