सोमबार १० बजेसम्मका मुख्य १० खबर

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

 
नेप्सेको पुनर्सरचना गरिने, पुँजीगत लाभकर घटाइने
अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना जारी गरेको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत साता घोषणा गरेअनुसार कार्ययोजना जारी भएको हो। 

२१ बुँदे कार्ययोजनामा आइपिओ जारी गर्न सामान्य योग्यतासम्बन्धी निर्देशिका बनाउने, नीतिगत तथा कानुनी सुधार गरी पुस मसान्तभित्र लागू गर्ने उल्लेख छ। कार्ययोजनामा पूँजीगत लाभकर घटाइने उल्लेख छ। यसले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने आकलन गरिएको छ। 

वीरगन्जका मेयरसहित सातजनालाई भ्रष्टाचार मुद्दामा सफाइ  
किर्ते कागजातका आधारमा जन्मदर्ता र नागरिकता बनाएको आरोपमा भ्रष्टाचार मुद्दा लागेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सातजनाले विशेष अदालतबाट सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २५ जेठमा सिंहसहित तीन कर्मचारी, तत्कालीन वडाध्यक्ष र वडासचिव तथा नागरिकता लिने युवतीविरुद्ध गलत लिखत तयार पारेको सम्बन्धि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सफाइ दिने फैसला गरेको हो।

बाढीपीडितको पुनर्स्थापनामा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्रीले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोतसाधन प्रयोग गर्ने तयारी गरिरहेको बताए। 

छलफलका क्रममा उनले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपतका वेला संघ, प्रदेश र स्थानीय तहबिचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए। उनले जनप्रतिनिधिहरूलाई लक्षित गर्दै भने, ‘यसअघि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपतमा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ।’

पाँच लाखको चेक बाउन्स मुद्दामा फरार गाउँपालिका अध्यक्ष सिंहदरबारबाट समातिए 

चेक बाउन्स मुद्दामा फरार रहेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरवल लामालाई प्रहरीले मंगलबार अदालतमा पेस गर्ने भएको छ। सोमबार पनि पेस गरेकोमा बयान नभ्याएपछि उनलाई हिरासतमै राखिएको छ। 

सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गरेर निस्किएलगत्तै उनी पक्राउ परेका हुन्। प्रधानमन्त्रीले बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संयुक्त छलफल गरेका थिए। 

नेप्से २५ अंकले बढ्दा साढे चार अर्बभन्दा बढीको कारोबार
सोमबार नेप्से परिसूचक २५।५५ अंकले बढेर दुई हजार ५८५।०४ विन्दुमा पुगेको छ। नेप्से ०।९९ प्रतिशतले वृद्धि हुँदा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०।९५ प्रतिशतले बढेको छ।

आज कारोबार रकममा समेत सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन चार अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएकोमा आज बढेर चार अर्ब ६८ करोडमा पुगेको हो। ३३६ कम्पनीको एक करोड १५ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री भए।

रात्रिकालीन बस भक्तपुरको जगाती तथा ललितपुरको गोदावरीसम्म सञ्चालन हुने 

आगामी ३ असोजदेखि उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । २८ वटा बस थपेर ६ वटा रुटमा बस सञ्चालन गर्न लागिएको छ। 

काठमाडौं महानगरपालिकाका अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्। 

नौ उपसचिव र ५२ अधिकृतको सरुवा, स्थानीय तहका प्रशासकीय अधिकृतमा हेरफेर 
भूमि व्ववस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नौ उपसचिव र ५२ अधिकृतको सरुवा गरेको छ। सरुवामा धेरैलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएको छ। लामो समयदेखि स्थानीय तहमा कार्यरतलाई काठमाडौं सरुवा गरिएको छ। 

अकुत सम्पत्ति आर्जन मुद्दामा गोदावरी नगरपालिका इन्जिनियरलाई सफाइ 
अकुत आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका करारका इन्जिनियर सुन्दर विष्टले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई सफाइ दिएको हो। 

नेपालमा भियतनामबाट गाँजा तस्करी, म्यानमारकी युवती पक्राउ 
नेपालमा भियतनामबाट पनि गाँजा तस्करी हुन थालेको छ। तीन केजी तस्करीको गाँजासहित प्रहरीले म्यानमारकी युवतीलाई पक्राउ गरेको छ। 

लागुऔषध अनुसन्धान ब्यूरोले २९ वर्षीय जिन जिन फाओलाई सोह्रखुट्टेस्थित एक होटेलबाट पक्राउ गरेको हो। उनले सुटकेसभित्र तीन केजी गाँजा लुकाएर भियतनामबाट हङकङ हुँदै आइतबार नेपाल आएकी थिइन्। सो गाँजा लिन भारतबाट आएका २५ वर्षीय युसिफ खान र ३० वर्षीय बारकतुली अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो ?
नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रिन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सुझावित समाचार