भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।
मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ ।
पेट्रोलियम भण्डारण बढाउनुपर्नेमा आयल निगमद्वारा निर्माणाधीन परियोजना नै बन्द
पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्ने आफ्नै नीतिविपरीत आयल निगमले लुम्बिनी प्रदेशमा एक महिनाको माग धान्न सक्ने पूर्वाधारसहितको आधुनिक डिपो निर्माणकार्य बन्द गरेको छ। जग्गा विकास गरी टेन्डर गर्न तयार भएको परियोजनालाई आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बन्द गर्ने निर्णय गरेका हुन्।
उनको यस्तो निर्णय निगमले आर्थिक वर्ष ०८३/८४ का लागि बनाएको वार्षिक नीति–कार्यक्रमविपरीत छ।
निगमको चालू आवको नीति कार्यक्रमको पहिलो बुँदामा भनिएको छ, ‘सरकारको नीतिअनुरूप पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन पेट्रोलियम पाइपलाइन र भण्डारगृह निर्माणको कार्यलाई निरन्तरता दिइनेछ।’ कागजमा भण्डारगृह निर्माणलाई निरन्तरता दिने भनेर साह आफैँले लेखेका नीतिविपरीत व्यवहारमा निर्माणाधीन परियोजना बन्द गरेका हुन्।
व्यवस्थापनले परियोजना निर्माणका लागि चालू आवका लागि बजेटसमेत नराखेपछि सोमबार दिउँसो रुपन्देहीको रोहिणी गाउँपालिकास्थित फिल्ड अफिसमा रहेको टेबल, कुर्सी, एसी र कर्मचारी आवासका लागि लिइएको एकतले घरमा जडान एसी, पर्दा, खाट, तन्ना, डसनालगायतका सामग्री स्थानान्तरण गरिएको छ। बजेट नै नराखिएपछि गत साउनबाटै परियोजनाको गेटमा राखिएका सेक्युरिटी गार्डसमेत हटाइसकिएको थियो।
विदेशी विनिमय सञ्चिति साढे ४० खर्बमाथि, २१ महिनाको वस्तु आयात धान्न पर्याप्त
आर्थिक वर्ष ०८३/८४ मा विदेशी विनिमय सञ्चिति वृद्धि भएको छ। चालू आवको दुई महिनामा विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ (२६ अर्ब ४८ करोड अमेरिकी डलर) पुगेको छ।
रेमिट्यान्स २४ प्रतिशतले बढ्दा दुई महिनामै भित्रियाे चार खर्ब ३६ अर्ब
आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। चालु आवको साउन र भदौमा चार खर्ब ३६ अर्व ३६ करोड रुपैयाँ विप्रेषणका रुपमा भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
गत भदौमा मात्र विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। २०८२ को भदौमा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ।
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले खड्का र उनका तीन सहयोगीलाई पक्राउ गरी ठगी तथा संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो । पक्राउ पर्ने अन्यमा भक्तपुरका रवीन्द्र केसी, गोरखाका प्रवीण तिवारी र सर्लाहीका रामपुकार तिवारी छन्।
पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा सघाउन एडिबीलाई अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्ले र एडिबीका अध्यक्ष मासातो कान्दाबिच बिहीबार भेटवार्ता भएको हो।
रास्वपाले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुलायो
राष्ट्रिय स्वतन्त्र पार्टीले नगरपालिकाको उम्मेदवार बन्नका लागि क्यान्डिडेट क्लबको आवेदन खुलाएको छ। नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यको उम्मेदवारका आकांक्षीहरूले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।
यसअघि रास्वपाले गाउँपालिकाको उम्मेदवारको आवेदन खुलाएको थियो। रास्वपाले बुधबार मात्र स्थानीय निर्वाचनका उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको थियो।
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री–वितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले अराजक र षड्यन्त्रकारी प्रवृत्तिका विरुद्ध राजनीतिक रूपमा अत्यन्त सजग र सतर्क रहनुपर्ने चेतावनी दिए।
बलान खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु, अर्का एक बेपत्ता
सिराहाको लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिक रहेको बलान खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। अर्का एकजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेतिर गाउँनजिकै पर्ने खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय जोगेन्द्र महतोका छोरा करिब १२ वर्षीय राजु महतोको डुबेर मृत्यु भएको हो।