काठमाडौं– आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। चालु आवको साउन र भदौमा चार खर्ब ३६ अर्व ३६ करोड रुपैयाँ विप्रेषणका रुपमा भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो।
गत भदौमा मात्र विप्रेषण आप्रवाह २ खर्ब २१ अर्ब ३१ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। २०८२ को भदौमा विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ।
चालू आवको दुई महिनामा ७८ हजार ३२० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिँदा पुनः श्रम स्वीकृति लिनेको संख्या ५२ हजार १६३ छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ थियो।