लहान/ सिराहाको लहान नगरपालिका– २३, तिलेबोना गाउँनजिक रहेको बलान खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। अर्का एकजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजेतिर गाउँनजिकै पर्ने खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय जोगेन्द्र महतोका छोरा करिब १२ वर्षीय राजु महतोको डुबेर मृत्यु भएको हो।
बालक खोलामा डुबेको सूचना पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले संयुक्त रूपमा खोजतलास गर्ने क्रममा अपराह्न करिब ४ बजेतिर शव भेटिएपछि कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बिहीबार साँझसम्म इलाका प्रहरी कार्यालय लहान र महेशबारी तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानका गरी १८ जना सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सहयोगमा खोजतलास गरिएको छ। ‘खोजतलासको क्रममा बालक राजु मृत भेटिए पनि अर्का करिब ८ वर्षीय अभिनन्दन महतो साँझसम्म भेटिएका छैनन्,’ उनले भने, ‘साँझ परेकाले शुक्रबार बिहान सबेरैदेखि पुनः खोजी गरिने छ।’
प्रहरीका अनुसार बिहीबार दिउँसो स्थानीय रामउदगार महतोका छोरा अभिनन्दनसहित राजु र उमेश महतोका छोरा करिब १० वर्षीय अमर महतो बलान खोलामा पौडी खेल्न गएका थिए। करिब दुई वर्षअघिको बाढीले खेतीयोग्य जग्गा कटान गरेपछि हालिएको तटबन्ध नजिकको पोखरी आकारको गहिरो खाल्डोमा जमेको पानीमा राजु र अभिनन्दन डुबेको प्रहरीले जनाएको छ।