आगामी ३ असोजदेखि उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ । २८ वटा बस थपेर ६ वटा रुटमा बस सञ्चालन गर्न लागिएको छ।
काठमाडौं महानगरपालिकाका अनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउन ८ वटा बस सञ्चालन हुनेछन्।
चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सेवा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।
महानगरपालिकाले गरेको एक अध्ययनका आधारमा बस सेवा र रुट थपिएको हो।
उता, रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल सोमबार भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुगेकी छिन्। छलफलका लागि उनीसहित प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेल, कार्यकारी निर्देशक भूपेन्द्र अर्यालसहित भक्तपुर गएका हुन्। त्यस क्रममा उनले भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेटेर छलफल गरेकी छिन्।
उपत्यकाका गत १ वैशाखदेखि रात्रिकालीन बससेवा सुरु भएको हो। व्यावसायिक रूपमा घाटा भए पनि सर्वसाधारणलाई राहत भएकाले बस र रुट थपेर सञ्चालन गर्न लागिएको हो। यसरी भएको नोक्सान स्थानीय तहहरूले बेहोर्ने सहमति छ।