रसुवाको भोटेकोशीमा आएको बाढीले नुवाकोटबाट बगाएको सुनका गरगहना लुकाएको आरोपमा धादिङबाट एकजना पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट आदमघाट धादिङबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका– ६, बन्छेटार बस्ने अन्दाजी ३५ वर्षका रामबहादुर तामाङलाई पक्राउ गरेको हो।
बाढीको भोलिपल्ट भदौ ११ गते सुनका गरगहना फेला पारी नियतवश कोही कसैलाई कुनै जानकारी नगराई आफैँले राखेको सूचनापछि प्रहरीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीले उनको साथबाट सुनको बाला तीन टुक्रा, झुम्का दुई थान, सिक्री दुई थान, औँठी दुई थान, मंगलसुत्र दुई थान र चाँदीको पाउजु दुई जोर बरामद गरेको छ।
तामाङलाई चोरीसम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय गजुरीबाट आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।