बहराइनविरुद्ध नेपाल सात विकेटले विजयी

सोमबार, १५ भदौ, २०८३
डिजिटल संस्करण

कप्तान सन्दीप लामिछानेसहित नेपाली बलर हाबी भएपछि नेपालले एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । 

सोमबार मलेसियाको बांगीमा नेपालले बहराइनलाई सात विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । 

टस हारेर सुरुमा ब्याटिङ गरेको बहराइनले ३६.२ ओभरमा अलआउट हुँदा ८८ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै जित निकाल्यो । 

ओपनर अर्जुन कुमालले अविजित सर्वाधिक ३६ रन बनाए । उनले ५८ बलमा पाँच चौका प्रहार गरेका हुन् । पूर्वकप्तान रोहितकुमार पौडेलले १९, ओपनर मोहम्मद आसिफ शेखले १८, देव खनालले १० तथा ईशान पाण्डे एक रनमा रनआउट भए । 

नेपालका लागि आसिफ र अर्जुनले पहिलो विकेटका लागि सर्वाधिक ३९ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र अर्जुनले अविजित ३० रनको साझेदारी गरेका हुन् । 

बहराइनका लागि इमरान जाभेद अनवारले दुई विकेट लिए । 

यसअघि बहराइनका लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि कप्तान सन्दीपले १० ओभरमा ४ मेडनसहित पाँच विकेट लिएर १४ रन खर्चिएका थिए । अर्का स्पिनर ललितनारायण राजवंशीले ६.२ ओभरमा एक मेडनसहित २० रन खर्चिएर तीन विकेट लिए । करण केसीले दुई विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र गुल्सनकुमार झा भने विकेटविहीन भएका छन् । 

एसिया कप छनोटको आधार रहेको एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट च्याम्पियन हुने एक टिम एसिया कपमा छनोट हुनेछ ।  एसिया कप २०२७ मा बंगलादेशमा हुँदै छ । सर्वाधिक च्याम्पियन भारतसँगै श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले एसिया कप खेल्नेछन् ।
 

सुझावित समाचार