बिहीबार १० बजेसम्मको प्रमुख १० खबर

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

१४ वर्षदेखि नेपाल बस्दै आएका अमेरिकी नागरिकलाई निष्कासनको निर्णय

१४ वर्षदेखि नेपालमा बस्दै आएका कोरियन मूलका एक अमेरिकन नागरिकलाई अध्यागमन विभागले निष्कासन गर्ने निर्णय गरेको छ। पेटर क्वाङ सिओङ किमलाई विभागले निष्कासन गर्ने निर्णय गरेको हो । 

सामाजिक कामको आवरणमा धर्म प्रचारमा संलग्न रहेको भन्दै उनलाई निष्कासनको निर्णय भएको हो। सन् २०१२ मा पर्यटक भिसामा नेपाल आएका उनी नेपाली महिलासँग विवाह गरी पछिल्ला रिलेसन भिसामा बस्दै आएका छन्। बिचमा उनी बिजनेस भिसामा समेत बसेका थिए। 

पिपिए खोल्न सरकारले अघि बढायो प्रक्रिया

सरकारले विद्युत् खरिद सम्झौता (पिपिए) खोल्न प्रक्रिया अगाडि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पिपिए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ।

अख्तियारको काममा कुनै राजनीतिक हस्तक्षेप हुँदैन : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कानुनले दिएको अधिकार प्रयोग गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रस्ट पारेका छन्।

बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा सभापति लामिछानेले आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकारको पालामा नियुक्त भएको स्मरण गराउँदै सुशासन कायम गर्ने सवालमा कुनै हस्तक्षेप नहुने बताए।

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। बिहीबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेस गरेको अस्थायी संगठन संरचना आर्थिक वर्ष ०८३/८४ को प्रथम चौमासिकका लागि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले जानकारी दिए।

सहकारीको दुई अर्ब हिनामिनाका आरोपी तामाङ बागमती प्रदेशको मन्त्री नियुक्त

सहकारीको दुई अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिनाका आरोपी ज्ञानबहादुर तामाङलाई नेकपा एमालेले बागमती प्रदेशको मन्त्रीमा नियुक्त गरेको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले तामाङलाई विनाविभागीयमन्त्रीको रूपमा नियुक्त गरेका हुन्। उनको बिहीबार नै शपथसमेत भइसकेको छ।

तामाङ नेसनल नमोबुद्ध सहकारीको दुई अर्ब रुपैयाँ हिनामिनामा मुछिएका व्यक्ति हुन्। उनको सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले वर्ष दिनअघि नै समस्याग्रस्त घोषणा गरेको थियो। तामाङ नमोबुद्ध सहकारीको सञ्चालक हुन्।

राप्रपा बागमती प्रदेश सभा दलका नेता उद्धव थापा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्यबाट पनि हटाउने निर्णय

राप्रपा केन्द्रले दलका बागमती प्रदेश सभा दलका नेता उद्धव थापालाई पार्टीबाट तथा प्रदेश सभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई अनुशासन समितिको सिफारिसका आधारमा पार्टी र प्रदेश सभा सदस्यबाट निष्कासन गरेको हो। थापाले बुधबार एमाले र नेकपाका मुख्यमन्त्री उम्मेदवार किरण थापालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए।

गभर्नरको कार्यकाल तीन वर्षमा झार्ने अर्थ समितिको निर्णय, कार्यसम्पादन राम्रो भए दुई वर्ष पुनः नियुक्ति पाइने

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकहरूको पदावधि र पुनः नियुक्तिसम्बन्धी कानुनी व्यवस्थामा ठुलो फेरबदल गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै समितिले गभर्नरको नियमित कार्यकाल घटाउने र कार्यसम्पादनका आधारमा पुनः नियुक्तिको बाटो खोल्ने निर्णय आज पारित गरेको हो।

जंगलमा बेपत्ता बालकको तीन दिनपछि उद्धार

नवलपुरको गैँडाकोट नगरपालिका– १४, शंखदेवी सामुदायिक वनमा हराएका साढे दुई वर्षीय बालकको तीन दिनपछि सकुशल उद्धार गरिएको छ । भदौ २ गते बिहान ७ गैँडाकोट नगरपालिका– १४, भागरनिवासी हेमकुमारी आलेका साढे दुई वर्षीय नाति शिवान तामाङ जंगलमा बेपत्ता भएका थिए ।  

च्याउ खोज्न जंगल गएकी हजुरआमाको पछि लागेका बालक जंगलमै बेपत्ता भएका थिए । बालकको आज जंगलबाट सकुशल उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ । 

बागमतीमा ६ मन्त्री नियुक्त, दुई मन्त्रालय मुख्यमन्त्रीमातहत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार एमाले, नेकपा र राप्रपाबाट ६ मन्त्री नियुक्त गरेका हुन्। नियुक्तिपछि प्रदेश प्रमुख देवकोटाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेपाल प्रहरीका एसएसपी भ्रष्टाचार मुद्दामा दोषी ठहर, पाँच हजार जरिवाना

नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एसएसपी दोषी ठहर भएका छन्। प्राविधिक एसएसपी लालबाबु गिरीलाई विशेष अदालतले बिहीबार दोषी ठहर गरी पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो । न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दोषी ठहर गरेको हो। 

सुझावित समाचार