राप्रपा केन्द्रले दलका बागमती प्रदेश सभा दलका नेता उद्धव थापालाई पार्टीबाट तथा प्रदेश सभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई अनुशासन समितिको सिफारिसका आधारमा पार्टी र प्रदेश सभा सदस्यबाट निष्कासन गरेको हो। थापाले बुधबार एमाले र नेकपाका मुख्यमन्त्री उम्मेदवार किरण थापालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए।
राप्रपा उपाध्यक्ष रोशन कार्की नेतृत्वको अनुशासन समितिको बुधबारको बैठकले थापासहितका प्रदेश सभा सदस्यहरूलाई १२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। यद्यपि, थापाको मात्रै हस्ताक्षर थियो। थापाले स्पष्टीकरण नबुझाएको र उनले समर्थन फिर्तासमेत नलिएको भन्दै बिहीबार बसेको अनुशासन समिति बैठकले उनलाई निष्कासन गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको थियो। कार्य सम्पादन समितिले उनलाई निष्कासन गर्ने निर्णय गरेको बैठकपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।
राप्रपाको २० साउनमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी सत्ताको भागबन्डामा नलाग्ने तथा प्रदेशमा कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेको थियो। कार्कीका अनुसार प्रदेश सरकारबारेमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिइएको थियो। स्राेतका अनुसार त्यस बैठकमा पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी सत्ताको भागबन्डामा लाग्नु नहुने, तर प्रदेश सरकारबारेमा कुनै निर्णय लिनुपरेमा अध्यक्ष लिङ्देनले तय गर्ने प्रस्ताव गरेका थिए। जसलाई राप्रपाले पारित गरेको थियो।
‘थापाजीको गतिविधि पार्टी छाडेका धवलशमशेर राणाहरूलाई सहयोग पुग्ने गरी भएको हाम्रो बुझाइ छ,’ राप्रपाका एक शीर्ष नेताले भने।