- बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियाला स्नायु प्रणालीसँग सम्बन्धित रोगका कारण चार दिनको अन्तरमा दुई खेलमा मैदानमा अचेत भए
जर्मन क्लब बायर्न म्युनिखका मिडफिल्डर जमाल मुसियालाले स्नायु प्रणालीसँग सम्बन्धित समस्याको उपचार गराइरहेको खुलासा गरेका छन् । यो चार दिनभित्र खेलकै क्रममा दुईपटक मैदानमा ढलेपछि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे अन्तर्राष्ट्रिय मिडियालाई स्पष्ट पारेका हुन् । २३ वर्षीय मुसियाला मंगलबार राति हाइडेनहेमविरुद्धको मैत्रीपूर्ण खेल प्रतिस्पर्धा गरेको ६ मिनेटमै ढलेका थिए । सो खेलमा बायर्न म्युनिख ४–२ ले विजयी भयो ।
मैदानभित्र छिरेको ६ मिनेटबिचमै मुसियाला मैदानमा ढले । उनी केहीबेर अलमल्ल र होस हराएजस्तो देखिएका थिए । मैदानमा तत्कालै चिकित्सकहरूले उनलाई उपचार प्रदान गरी सहारा दिएर मैदानबाट बाहिर लगेका थिए । गत शनिबार बायर्न म्युनिखले आरबी लाइपजिगविरुद्ध खेलेको थियो । यो खेलमा बार्यनले आरबिलाई ३–१ ले हराएको थियो । यस खेलमा पनि मुसियाला मैदानमा ढलेका थिए । लगातार दुई खेलमा यस्तो घटना भएपछि चिन्तित बनेका समर्थकलाई आश्वस्त पार्न मुसियालाले इन्स्टाग्राममार्फत आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका हुन् । ‘मलाई अस्थायी र छोटो समयका लागि हुने ‘एब्सेन्स सिजर्स’ भएको पत्ता लागेको छ, जुन न्युरोलोजिकल डिसफंक्सनका कारण हुने गर्छ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘यसबाट डराउनु पर्ने अवस्था छैन ।
यो रोग उपचारबाट सजिलै निको हुन सक्छ ।’ उनले आफ्नो स्वास्थ्य अवस्थाप्रति चिन्ता लिइरहेका समर्थकलाई धन्यवाद दिएका छन् । ‘यस्तो घटनाले सुरुमा जो कोहीलाई पनि डर लाग्छ, तर अहिले मेरो दैनिकीको एउटा पाटोजस्तै बनेको छ,’ उनले भने, बायर्न, समर्थक र मेरो परिवारले मलाई साथ दिइरहनुभएको छ ।’ मुसियालाका लागि पछिल्लो समय निकै चुनौतीपूर्ण रह्यो ।
जर्मनीबाट विश्वकप खेलेका मिडफिल्डर
सन् २०२५ को क्लब विश्वकपका क्रममा उनको गोलीगाँठो भाँचिएको थियो । जसका कारण उनले सिजनको पहिलो ६ महिना गुमाउनुपरेको थियो । पछिल्लो घटनापछि बायर्न म्युनिखका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबरलले क्लबलाई खेलाडीको अवस्थाबारे पहिल्यै जानकारी रहेको बताएका छन् । ‘हामीलाई यो विषयमा पहिलेदेखि नै जानकारी थियो, तर हामी अवस्थाप्रति सचेत छौँ,’ म्याक्सले भने । जर्मनी खेलाडीसमेत रहेका मुसियालाले गत महिना अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका थिए । जर्मनीका चारमध्ये तीन खेल खेल्दा उनी पहिलो रोजाइमा परेका थिए ।