गोसाईँकुण्ड मेलाको तयारी तीव्र

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाईँकुण्डमा लाग्ने जनपूर्णिमा मेलालाई लक्षित गर्दै तयारी तीव्र पारिएको छ। आगामी भदौ १२ गते हुने मेलाका लागि होटेल व्यवसायीहरूले आवास, शौचालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छन्।

गोसाईँकुण्ड मार्ग होटेल व्यवसायी संघका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाईँकुण्डसम्मका २५ भन्दा बढी होटेलले तीर्थयात्री व्यवस्थापनका लागि तयारी गरिरहेका छन्।

मेलामा आउने भक्तजनलाई बसोबासको समस्या नहोस् भन्ने उद्देश्यले दुई सयभन्दा बढी अस्थायी थर्पु (टहरा) निर्माण भइरहेका छन्। साथै होटेल व्यवसायीहरूले दाल, चामल, तेल, नुन, मसलालगायतका खाद्य सामग्रीसमेत ढुवानी गर्न थालेका छन्।

यसैबिच, लाङटाङ राष्ट्रिय निकुञ्जले तीर्थयात्रीको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै प्रत्येक थर्पुमा अनिवार्य रूपमा शौचालयको व्यवस्था गर्न होटेल व्यवसायीलाई आग्रह गरेको छ। मेलाका क्रममा ठुलो संख्यामा तीर्थयात्री गोसाईँकुण्ड पुग्ने भएकाले व्यवस्थापनलाई व्यवस्थित बनाउन सरोकारवाला निकाय सक्रिय भएका छन्।

सुझावित समाचार