नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमा पुन अनन्तले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकताको विकल्प नरहेको बताएका छन्।
मार्क्सवादी ज्ञान केन्द्रद्वारा शनिबार आयोजित नेपालमा वामपन्थी शक्तिहरूबिच सहकार्य र एकता, चुनौती र सम्भावना’ विषयक भर्चुअल बहसमा प्रमुख वक्ता रहेका पुनले विचार मिल्ने वामपन्थीहरूबिच सहकार्यको विकल्प नरहेको बताएका हुन्।
कम्युनिस्ट आन्दोलन हाल विशिष्ट र रक्षात्मक अवस्थामा रहेको रहेको भए पनि यही स्थिति लामो समय नरहने दाबी उनको थियो।
पुनले तत्काल पार्टी एकता सम्भव नभए पनि मुद्दाका आधारमा सहकार्य थाल्नुपर्नेमा जोड दिए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति साझा संघर्ष गर्ने, राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगाडि बढाउने र सामाजिक जनवादका मुद्दाहरूलाई व्यवस्थित रूपमा लैजानृे अहिलेको आवश्यकता हो’, पुनले भने, ‘विचार मिल्नेहरूबिच सहकार्य र एकता जरुरी छ।’
आ–आफ्नो पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्दै फेरि वामपन्थी आन्दोलनलाई एक ठाउँमा ल्याउने प्रयास गरिने उनको भनाइ थियो।