प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठकमा चारवटा विधेयक प्रस्तुत भएका छन्। शुक्रबार बसेको बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयले चार विधेयक पेस गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन्।

यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भने ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा पेस गरेकी छिन्।

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना नआएपछि सभामुख डोलप्रसाद अर्यालले सर्वसम्मतिले अनुमति प्रदान गरिएको घोषणा गरे।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को साबिक व्यवस्था जगाउनेसम्बन्धी समितिको प्रतिवेदन, २०८३ पनि पेस गरे।

प्रतिनिधिसभाको अर्को बैठक साउन २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ।

सुझावित समाचार