इभी हाँक्ने कुशलालाई सम्मान

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

धनकुटाकी एक मात्र इलेक्ट्रिक गाडी (इभी) चालक महिला कुशला राईलाई सम्मान गरिएको छ। धनकुटा नगरपालिका– ६ वडा कार्यालय र मार्गेश्वरी टोल विकास संस्थाले संयुक्त रूपमा राईलाई सम्मान गरेको हो।

सहिदभूमि गाउँपालिका– ४ घर भएकी राई लामो दूरीको सार्वजनिक सवारीसाधन चलाउने धनकुटाकी एक मात्र महिला चालक हुन्। उनलाई धनकुटा नगरपालिका– ६ स्थित गोठगाउँमा इभी गाडी रोकेर वडा कार्यालय र स्थानीयवासीहरूले प्रंशसा–पत्र, फूलमाला र अबिर लगाएर सम्मान गरे। दैनिक लामो दूरीमा सवारी चलाउँदै आएकी राईलाई थप हौसला प्राप्त होस् भन्ने उद्देश्यले सम्मान गरिएको मार्गेश्वरी टोल विकास संस्था धनकुटाकी अध्यक्ष तथा धनकुटा नगरपालिकाकी सदस्य रेजिना हिङमाङले बताइन्।

घरायसी काममा मात्र सीमित नभई कुशलाले गाडी चलाएर एक साहसी महिलाको उदाहरण देखाएकाले उनलाई सम्मान गरिएको कार्यपालिका सदस्य हिङमाङले बताइन्। राईले दैनिक धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चानुवा डाँडागाउँबाट लेगुवा, पाख्रीवास, हिले, धनकुटा, भेडेटार, धरान हुँदै इटहरीसम्म इभी गाडी चलाउँदै आएकी छिन्।

सुझावित समाचार