भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटीको बडीकेदार गाउँपालिकामा निर्मित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको (केदार सूर्य बहुमुखी क्याम्पसको रुपमा पुनः नामकरण गरिएको) उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका प्रथम सचिव÷प्रबक्ता बशिष्ट नन्दन र बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले सोमबार भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
दुईतल्ले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भएको थियो। यो परियोजना डोटीको बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिएको भारतीय राजदुताबासले जनाएको छ। क्याम्पस भवनका प्रत्येक तलामा ७ वटा कोठा र अन्य सम्बद्ध सुविधाहरु समावेश छन्।
केदार सूर्य बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो। क्याम्पसमा ब्याचलर अफ एजुकेसन र ब्याचलर अफ बिजनेस स्टडिज कार्यक्रमहरु सञ्चालन भइरहेका छन्।
उद्घाटन कार्यक्रममा बडीकेदार गाउँपालिकाका अध्यक्ष, क्याम्पस व्यवस्थापन तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले उक्त क्षेत्रको शैक्षिक पूर्वाधारलाई सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे।
भारतीय दुताबासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरु समेट्ने गरी विभिन्न क्षेत्रहरुमा करिब ६०० वटा परियोजनाहरु अघि बढाइएका छन्। तीमध्ये डोटी जिल्लाका ४ वटा परियोजनाहरुसहित ४७ वटा परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा छन्।
यसका अतिरिक्त भारत सरकारले डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बससहित सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।