विद्यार्थीको समर्थनमा आज भारतभर सिजेपीको प्रदर्शन

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

‘फास्ट ट्रयाक’ अदालतमार्फत पेपर लिकका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, पहिले शिक्षामन्त्रीको राजीनामा आउनुपर्ने सिजेपीको अडान

निट पेपर चुहावटविरुद्ध भारतमा विद्यार्थीले गरिरहेको विरोध प्रदर्शन बिहीबार पनि जारी रह्यो । आन्दोलनको मुख्य केन्द्र बनेको दिल्लीको जन्तरमन्तर र वरपर युवाहरूको ठुलो भिड जम्मा भएको थियो । आन्दोलनको अगुवाइ गरिहेको कक्रोच जनता पार्टी (सिजेपी)ले शुक्रबार देशभर शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको छ ।

देशभरका स्तातक तहमा पढाइ हुने चिकित्सकीय तथा दन्त कार्यक्रमको प्रवेश परीक्षा ‘नेसनल इलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट (निट)’को प्रश्नपत्र चुहावट भएपछि विद्यार्थी र सामाजिक अभियन्ताले केही समयदेखि विरोध प्रदर्शन गरिरहेका छन् । गत जुलाई २० का दिन विद्यार्थीले गरेको संसद् मार्चविरुद्ध प्रहरीले लाठीचार्ज र अश्रुग्यास चलाएपछि अहिले आन्दोलनले ठुलो रूप लिएको छ । यसैबिच प्रधानमन्त्री मोदीले बिहीबार विद्यार्थीको गुनासोअनुरूप पेपर लिक गर्नेलाई कारबाही गर्न ‘फास्ट ट्रयाक अदालत’ बनाउने बताए ।

मोदीले बिहीबार आफ्नो सरकारले प्रश्नपत्र चुहावटका लागि जिम्मेवारहरूलाई सजाय दिन ‘फास्ट–ट्रयाक’ अदालत स्थापना गर्ने निर्णय गरेको जानकारी दिएका छन् । साथै मोदीले भारतका युवाको कल्याण र भविष्य ‘आफूहरूको सर्वोच्च प्राथमिकता’मा रहेकोमा जोड दिए । ‘सम्बन्धित विभागले आवश्यक कारबाही सुनिश्चित गर्न यस सम्बन्धमा निर्देशन जारी गरेको छ । विद्यार्थीको हितको रक्षा गर्न सरकारले लिइरहेका निर्णयको शृंखलामा यो एक महŒवपूर्ण कदम हो । युवाहरूको भविष्यसँग छेडछाड गर्ने कसैलाई पनि बचाइनेछैन,’ मोदीले भने ।

जन्तरमन्तरमा भइरहेको विरोध प्रदर्शनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी (सिजेपी)ले ‘एक्स’मा ‘शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ’ लेखेको छ । प्रधानमन्त्री मोदीको आश्वासनबारे टिप्पणी गर्दै कक्रोच जनता पार्टीका प्रमुख प्रवक्ता सौरभ दासले भने, ‘यस्ता बयानबाजी र घोषणाहरूको कुनै अर्थ छैन । यी सबै जाली कुराहरू हुन् । जनतालाई मुर्ख बनाउनुहुँदैन । हामी जवाफदेहिताको माग गर्छौँ, र हामी धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कम कुनै पनि कुरासँग वार्ता गर्नेछैनौँ ।’

प्रमुख विपक्षी दलका नेता राहुल गान्धीले भने फास्ट–ट्रयाक अदालतको गठनलाई ‘शिक्षा प्रणालीको विनाश लुकाउने प्रयासका रूपमा’ व्याख्या गरे । सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्ट गर्दै राहुल गान्धीले देशको शिक्षा प्रणालीलाई बर्बाद गर्ने र युवाहरूको भविष्यलाई बिगार्ने काममा प्रधानमन्त्री आफैँ जिम्मेवार रहेको आरोप लगाए ।

‘तपाईंले हाम्रा युवाको भविष्यलाई सबैभन्दा ठुलो हानि पुर्‍याउनुभएको छ । तपाईंले शिक्षा प्रणालीलाई विनाश गर्न मात्र अनुमति दिनुभएन, प्रोत्साहनसमेत गर्नुभयो । तपाईंले यस प्रकरणमा जिम्मेवार सबैलाई बचाउ गर्नु भयो,’ प्रधानमन्त्री मोदीको फास्ट ट्रयाक अदालत स्थापना गर्ने घोषणाबारे टिप्पणी गर्दै प्रमुख विपक्षी दलका नेता राहुल गान्धीले एक्समा लेखेका छन् । त्यस्तै राहुलले एक पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीको मागप्रति समर्थन गर्दै तीन माग दोहोर्‍याए । उनको पहिलो माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई बर्खास्त गर्नुपर्ने छ । दोस्रो माग विद्यार्थीसँग माफी माग्नुपर्ने तथा तेस्रो माग विद्यार्थीमाथि हिंसा मच्चाउनेमाथि कारबाही गर्नुपर्ने रहेको छ ।

शुक्रबार देशव्यापी शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान 
कक्रोच जनता पार्टी (सिजेपी)ले जुलाई २४ मा देशका ‘प्रत्येक जिल्लामा एक दिन, एक माग’ नाराका साथ देशभर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको छ । प्रहरी कारबाहीबाट पीडित बनेकाहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै बिहीबार ‘प्रत्येक जिल्लामा एक दिन, एक माग’ नाराअनुरूप शान्तिपूर्ण विरोध प्रदर्शनका लागि राष्ट्रव्यापी आह्वान जारी गरिएको हो ।

सिजेपीले जारी गरेको एक पोस्टरमा यो विरोध पूर्ण रूपमा शान्तिपूर्ण तरिकाले गरिने उल्लेख छ । विभिन्न विद्यार्थी संघ र अन्य संस्थालाई स्थानीयस्तरमा अनुमति लिन र सँगै विरोधको तयारी गर्न अपिल गरिएको छ । विरोधका क्रममा विद्यार्थीहरूका माग सम्पूर्ण समुदायलाई पढेर सुनाइनेछ, र प्रहरी बर्बरताका पीडितसँग ऐक्यबद्धता व्यक्त गरिनेछ ।

भारतभरका विभिन्न राज्यमा प्रहरीले विद्यार्थीविरुद्ध दमन गरेको आरोपबिच सिजेपीले बिहीबारको शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो । यसमा भाग लिन सिजेपीले सबै नागरिक, विद्यार्थी र सामाजिक संस्थालाई अपिल गरेको छ ।

पछिल्लो दश वर्षमा ‘१५२ पेपर लिक’ भएको राहुलको दाबी
कांग्रेस नेता राहुल गान्धीले वर्तमान सरकारको शासनकालमा सयौँ परीक्षाका प्रश्नपत्र बाहिरिएको र हालसम्म एकजनालाई पनि कारबाही नभएको आरोप पनि लगाए । पेपर लिकका कारण परीक्षाको तयारी गर्ने झन्डै सात करोड ५० लाख विद्यार्थीलाई असर गरेको पनि राहुलले दाबी गरे ।

‘१० वर्षमा देशमा १५२ प्रश्नपत्र बाहिरिएका छन् । गणना गर्ने हो भने औसतमा हरेक महिनाजसो एउटा पेपर लिक भएको छ । यी कुनै पनि घटनामा कसैलाई पनि कारबाही भएन । भारतमा शिक्षाको बजेट १.४ लाख करोड भारु छ । भारतीय परिवारले निट परीक्षाका लागि गर्ने खर्चको कुल लागत १.३२ लाख करोड भारु रहेको बताए । उनका अनुसार आमपरिवारले निट परीक्षाका लागि गर्ने खर्च देशको शिक्षा बजेटभन्दा बढी रहेको औँल्याए । त्यस्तै, उनले सरकारसँग तीन माग राखेका छन् ।

विद्यार्थीको समर्थनमा पटनामा ठुलो प्रदर्शन 
दिल्लीको जन्तरमन्तरमा सिजेपीले आयोजना गरेको विरोध प्रदर्शनमाथि भएको दमन र यसका मागप्रति समर्थन गर्दे भारतका केही ठुला सहरमा पनि प्रदर्शन भए । यीमध्ये विशेषतः विहारको राजधानी पटनाको प्रदर्शन निकै ठुलो देखिएको थियो । भाकपा–माले पार्टीको विद्यार्थी संगठन ‘अल इन्डिया स्टुडेन्स एसोसियसन (आइसा)’को आह्वानमा प्रदर्शन भएको थियो । गान्धी मैदानबाट सुरु भएको विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले पटना सहरका विभिन्न क्षेत्रमा प्रदर्शन गरे । सुरुमा शान्तिपूर्ण सुरु भएको आन्दोलन पछि हिंस्रक बनेको र प्रदर्शनकारीले प्रहरी सवारी साधनमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । त्यस्तै, तिनले प्रहरीमाथि ढुंगा प्रहार गर्नेदेखि मिडियाकर्मीलाई समेत आक्रमण गरेको बताइएको छ । बिहीबार पटना प्रहरीले हिंसात्मक कार्यमा संलग्न ६० प्रदर्शनकारीको तस्बिर जारी गर्दै जनतालाई उनीहरूको पहिचान गरी सूचना प्रदान गर्न अपिल गरेको छ ।

झारखण्डमा भाजपा कार्यालयअघि विरोध 
उता निट पेपर लिक मुद्दामै झारखण्डको राजधानी राँचीमा पनि प्रदर्शन भयो । यहाँ भने केन्द्रमा सरकार चलाइरहेको भाजपाको मुख्यालयबाहिर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागको समर्थनमा ठुलो संख्यामा प्रदर्शनकरी भेला भए । भाजपाले प्रदर्शनकारी मुख्यतः कांग्रेस कार्यकर्ता भएको आरोप लगाएको छ । त्यहाँ आफ्नो पार्टी कार्यालयबाहिर जम्मा भएको प्रदर्शनकारीमाथि भाजपा कार्यकर्ता उत्रिने तयारी भएको थियो भने छिटपुट झडपसमेत भएको थियो । यस तनावपूर्ण परिस्थितिमा, भारी सुरक्षा बलको उपस्थितिमा दुवै पक्षबिचको ठुलो झडप टरेको प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । प्रहरीले भाजपा कार्यालयनजिकै ब्यारिकेड बनाएर तनावपूर्ण स्थिति नियन्त्रण गर्ने प्रयास गरेको थियो ।

यसबिच, अघिल्ला दुई दिनजस्तै बिहीबार पनि राजनीति, चलचित्र र खेलकुद जगत्का धेरै परिचित व्यक्तित्वहरू जन्तरमन्तरमा पुगेर विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाए । अझ रोचक कुरा भारतका धेरै ठाउँबाट मानिसहरूले अनलाइन खाना वितरण गर्ने एपमा पैसा तिरिदिएर प्रदर्शनको केन्द्र बनेको जन्तरमन्तरमा लगेर बाँडिदिन भनेका घटना बाहिरिएको छ ।

सय विपक्षी सांसदलाई बसमा राखेर गान्धी स्मृतिमा प्रार्थना गर्न गए राहुल
भारतका प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा विपक्षी सांसदहरू विद्यार्थीको समर्थनमा सडकमा उत्रिएका छन् । बिहीबार साँझ राहुलको निवासमा विपक्षी दलको बैठक बसेपछि नेताहरू बसमा चढेर ‘जनवरी ३० मार्ग’तर्फ गएका थिए । यद्यपि, प्रहरीले बाटोमा ब्यारिकेड राखेर नेता सवार बस रोक्ने प्रयास गरे पनि पछि उनीहरू गन्तव्यमा पुग्न सफल भए । कंग्रेस नेता खड्गेको जन्मदिनको अवसरमा जम्मा भएका कांग्रेस सदस्यहरू त्यहीँबाट देशको प्रधानमन्त्री निवास घेर्ने योजना बनाएर अचानक धर्नामा बसेका थिए ।

साँझपख दिल्लीमा विपक्षी दलले पनि विद्यार्थी आन्दोलनका समर्थनमा विरोध तीव्र पारे । कांग्रेस नेता राहुल गान्धी र विपक्षी दलका लगभग १०० सांसदहरू साँझ ३० जनवरी मार्गमा रहेको गान्धी स्मृतिमा पुगेका थिए । भारतीय मिडियाका अनुसार राहुल गान्धी खासमा ‘इन्डिया गेट’ जान चाहन्थे । तर त्यसको अनुमति दिइएन । त्यसपछि उनी गान्धी स्मृतिर्फ गएका हुन् । त्यहाँ, उनीहरूले नीट पेपर चुहावटपछि निराश भएर ज्यान गुमाएका विद्यार्थीहरू र त्यसविरुद्ध प्रदर्शनका सहभागी विद्यार्थीमाथि भएको प्रहरी दमनमा घाइते भएकाहरूका लागि प्रार्थना गरे ।

एजेन्सीको सहयोगमा 
 

सुझावित समाचार