- इंग्लिस प्रिमियर लिगको नयाँ सिजनका लागि चेल्सीले एस्टन भिल्लाका मोर्गन रोजर्सलाई ११७ मिलियन पाउन्ड खर्च्यो
चेल्सीले इंग्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सलाई कीर्तिमानी रकम ११७ मिलियन पाउन्डमा अनुबन्ध गरेको छ । २३औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा तेस्रो स्थान रक्षा गरेको इंग्ल्यान्डका मिडफिल्डर मोर्गन र चेल्सीबिच ६ वर्षको सम्झौता भएको बिबिसीले जनाएको छ । रोजर्सले सोमबार लन्डनमा स्वास्थ्य परीक्षण पूरा गरेपछि सम्झौतामा हस्ताक्षर गरेका हुन् । रोजर्सले चाहे सम्झौता अवधिमा एक वर्ष थप्ने सकिने प्रावधान पनि राखिएको छ ।
चेल्सी गत सिजनको इंग्लिस प्रिमियर लिगमा १०औँ स्थानमा रहेको थियो । यसपटक शीर्ष चारसहित उपाधिमाथि दाबेदारी प्रस्तुत गर्न चेल्सीले अनुभवी र युवा खेलाडी अनुबन्ध गरिरहेको छ । रोजर्सले प्रिमियर लिगकै प्रतिष्ठित क्लबमा अनुबन्ध हुन पाउँदा खुसी लागेको बताएका छन् । ‘लन्डनको सबैभन्दा ठुलो क्लबमा आबद्ध भएको छु । यो करिअरकै ठुलो उपलब्धिमध्ये एक हुनेछ,’ उनले भने, ‘क्लबले अघि बढ्न चाहेको दिशा र योजनाको हिस्सा बन्न चाहन्छु । यो मेरो लागि उपयुक्त निर्णय हो र मैदानमा उत्रिन निकै उत्साहित छु ।’
यसअघि एस्टन भिल्लाले रोजर्सलार्ई चेल्सीमा नपठाउने अडान राखेको थियो । तर, लोभलाग्दो प्रस्ताव आउँदा पूर्ववत् अडानबाट पछि हटेको हो । रोजर्सको स्थानान्तरणले ट्रान्सफर बजारमा आश्चर्य ल्याएको छ । एक किसिमले भिल्लाकै सबैभन्दा मूल्यवान् खेलाडीमा उनी थिए । रोजर्स भित्र्याउन साबिक विजेता आर्सनल पनि अगाडि थियो । तर, आर्सनलले चेल्सीको जति रकम खर्च गर्न सकेन । चेल्सीले रोजर्सलाई दुई वर्षदेखि निगरानीमा राखेको थियो । चेल्सीले नयाँ सिजनमा उनलाई आफ्नो प्रमुख स्ट्राइकरका रूपमा समावेश गर्नेछ ।
रोजर्सको मार्केट भ्यालु शतप्रतिशत वृद्धि
सन् २०२४ मा रोजर्सको मार्केट भ्यालु केवल आठ मिलियन पाउन्ड थियो । उनी म्यानचेस्टरमा रहँदा आठ मिलियन सम्झौता रकम थियो । त्यसपछि भिल्लाले उनलाई १५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । दुई वर्षको अन्तरमा उनले आफ्नो मार्केट ब्रान्ड भ्यालु शतप्रतिशत वृद्धि गरेको बिबिसीले उल्लेख गरेको छ । ‘दुई वर्षअघिसम्म पनि रोजर्सको भ्यालु केवल १५ मिलियन पाउन्ड थियो । अहिले चेल्सीमा पुग्दा उनी ११७ मिलियन पाउन्डमा बिक्री भए,’ बिबिसीले भनेको छ, ‘दुई वर्षमा एक खेलाडीको मार्केट भाउ अकासियो ।’
प्रशिक्षक अलोन्सोको पहिलो रोजाइ
क्लबका खेल निर्देशक, मुख्य प्रशिक्षक जाबी अलोन्सो तथा सहमालिक बेहदादले रोजर्स भित्र्याउन त्रिकोणात्मक भूमिका निर्वाह गरेको बिबिसीले जनाएको छ । चेल्सीका कप्तान रिस जेम्सले समेत इंग्ल्यान्ड टोलीभित्रबाट क्लबको पक्षमा भूमिका खेलेका छन् । जेम्सले कोल पाल्मरको सहयोगमा रोजर्ससँग वार्ता गरेका थिए । आर्सनलले पेरिस सेन्ट जर्मेनका ब्राड्ली बार्कोला र बर्नमाउथका जुनियर क्रुपीलाई वैकल्पिक लक्ष्यका रूपमा राखेको छ । क्लबका प्रशिक्षक जाबी अलोन्सो अमेरिकाबाट फर्केको ४८ घण्टाभित्रै रोजर्सलाई फकाउन सफल भए । अलोन्सोले रोजर्सलाई बायाँ विङमा र पाल्मरलाई मध्य भागबाट खेलाउने योजना बनाएका छन् ।
अलोन्सोले नयाँ सिजनमा चेल्सीको रणनीतिका रूपमा तीन डिफेन्डर सुरुमै राख्नेछन् । चेल्सीले ठुलो रकम खर्चिएर खेलाडी भित्र्याउँदा आर्थिक सन्तुलन मिलाउनुपर्ने देखिन्छ । यसका लागि उसले खेलाडी बेच्नुपर्ने दबाब छ । चेल्सीले यसअघि नै मार्क कुकुरेला, एन्ड्रे सान्तोस र टायरिक जर्जजस्ता खेलाडीलाई बेचेर १२० मिलियन पाउन्डभन्दा बढी कमाइसकेको छ । अब अलेक्जान्ड्रो गार्नाचोलगायत अन्य केही खेलाडीलाई पनि बेच्ने तयारी गरेको बिबिसीले जनाएको छ ।