काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार एक मात्रै खेल हुँदै छ । पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससँग खेल्दै छ । खेल त्रिवि मैदानमा साँझ ४:३० बजे सुरु हुनेछ ।
एनपिएल पहिलो सिजन जितेको जनकपुरले दोस्रो संस्करण कमजोर प्रदर्शन गर्यो । त्यसैले यसपटक टोली दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ । अमेरिकी खेलाडी हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै कमब्याक गर्न सफल भएको छ । त्यसैले टिम दोस्रो जित निकाल्दै उपाधि दाबेदारी यथावत् राख्न चाहन्छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा भने पहिलो जितको खोजीमा छ । टोली पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो । पोखरा पछिल्लो दुई संस्करण प्लेअफमा पनि पुगेको छैन । यसपटक टोली महŒवाकांक्षी योजनासहित उत्रिएको छ । तर, पहिलो खेलमै नतिजा नआए पनि पोखरा दोस्रो खेलमा कमब्याक गर्ने लक्ष्यमा छ । टोलीलाई टेस्ट राष्ट्र बंगलादेशका दुई तथा श्रीलंकाका दुई खेलाडीको साथ रहेको छ । यस्तै, नेपाली युवा खेलाडीको राम्रो सम्मिश्रण रहेको छ ।
दुवैलाई विदेशी खेलाडीकै भर
जनकपुर तेस्रो तथा पोखरा दोस्रो खेल खेल्दै गर्दा दुवै टोली विदेशी खेलाडीका भरमा हुनेछन् । तथापि, प्रतियोगितामा नेपाली खेलाडीको प्रभाव राम्रो देखिन्छ । जनकपुरका लागि खेलेका इंग्ल्यान्डका चर्चित अलराउन्डर मोइन अलीले काठमाडौंविरुद्ध जित निकाल्दा ५८ रन बनाएका थिए ।
उनले ५१ बलमा समान तीन चौका र छक्का हानेका थिए । बंगलादेशका अलराउन्डर सैफ हसनले पनि ३९ बलमा अविजित ४० रन बनाएका थिए । यी खेलाडीबाहेक जनकपुरमा श्रीलंकाका कुशल परेरा र अमेरिकाका हर्मित सिंह छन् । कप्तानी जिम्मेवारी पाएका हर्मित सिंहले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । पहिलो खेल खेलेका जेम्स निसमले भने दोस्रो खेलमा विश्राम पाएका थिए । यसबाहेक जनकपुरमा मार्की ललित राजवंशीसँगै तृतराज दास, मयन यादव, अनिलकुमार बाह, अभिषेक तिवारी, अमर रौटेलाजस्ता खेलाडी रहेका छन् । यता, पोखराले पनि पछिल्लो खेलमा नियमअनुसार बंगलादेश र श्रीलंकाका समान दुई खेलाडी खेलाएको थियो ।
प्लेयर्स टु वाच
मोइन अली (जनकपुर )
जनकपुरले तेस्रो खेलमा कर्णाली याक्सको सामना गर्दा मोइन अली सबैको नजरमा हुनेछन् । ३९ वर्षीय अनुभवी खेलाडी इंग्ल्यान्डका पूर्वअलराउन्डरसमेत हुन् । उनले इंग्ल्यान्डकै लागि ६८ टेस्टमा तीन हजारमाथि रन र एक सय ५५ विकेट लिइसकेका छन् । त्यस्तै, ९२ टी–२० आईमा १२ बढी रन बनाउँदा ७२ विकेट लिएका छन् । फ्रेन्चाइज क्रिकेटमा पनि उनको प्रभाव बलियो छ । उनले इन्डियन प्रिमियर लिगदेखि विश्वभरका चर्चित लिग खेलेका छन् । जारी नेपाल प्रिमियर लिगमा समेत उनले आफ्नो अनुभवलाई नेपाली खेलाडीमाझ साटेका छन् । उनले दुवै खेलमा आफूलाई सफल खेलाडीका रूपमा प्रमाणित गरे । पहिलो खेलमा कर्णालीविरुद्ध जनकपुर पराजित हुँदा १९ रन बनाउनुका साथै दुई विकेट लिएका थिए । दोस्रो खेलमा काठमाडौंलाई हराउँदा उनले अविजित ५८ रन बनाएका थिए ।
मेहदी हसन (पोखरा)
प्रतियोगितामा पोखरा एभेन्जर्सले दोस्रो खेल खेल्दा बंगलादेशी अलराउन्डरबाट धेरै आशा गरेको हुनुपर्छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएपछि पोखरा दबाबमा छ । बंगलादेशका अलराउन्डर हसनले पहिलो खेलमा आफूलाई प्रमाणित गरे । तर, टिमले उनको अलराउन्ड प्रदर्शनमा खेल जित्न सकेन । सुदूरविरुद्ध ओपनिङ ब्याटरले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाएका थिए । त्यस्तै, चार ओभरमा ३१ रन खर्चिएर एक विकेट लिएका हुन् । ३१ वर्षीय अलराउन्डर अन्तर्राष्ट्रिय क्रिकेटका लागि निकै अनुभव रहेका छन् । बंगलादेशबाट १२ एकदिवसीय खेल खेलेका छन् । जसमा एक सय २५ रन बनाउनुका साथै २९ विकेट लिएका थिए । यता, टी–२० आईमा भने सर्वाधिक ७८ खेल खेलेका छन् ।