बुधबार बसेको मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक गरिएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेले सातवटा निर्णयहरू सुनाए।
मन्त्रिपरिषद् बैठकले विशेष अदालत र श्रम अदालतका अध्यक्ष तोक्नेदेखि मिटरब्याज, गणेश नेपालीको आत्मदाह घटना, शिक्षा र स्वास्थ्यको समता शुल्कलगायतसँग सम्बन्धित निर्णयहरू गरेको छ।
यी हुन् सार्वजनिक गरिएका सात निर्णय :
१. विशेष अदालतका अध्यक्षमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने
२. श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने
३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गर्ने
४. २०८५ भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति दिने
५. अनुचित लेनदेन (मिटरब्याज)बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच २०८३/४/१ मा भएको सम्झौता अनुमोदन गर्ने । सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैका मितिबाट अवैध घोषणा गर्ने
६. गणेश नेपालीको आत्मदाह घटनामा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने
७. आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने