नक्कली भुटानी शरणार्थी प्रकरणः नौ मुख्य अभियुक्तलाई ४/४ वर्ष कैद सजाय कसलाई कति सजाय ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकतम चार वर्ष कैद सजाय भएको छ। यसका मुख्य नौ अभियुक्तलाई जिल्ला अदालत, काठमाडौंले कैद सुनाएको हो।
यसमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई ४–३ वर्ष कैद सजाय भएको हो। अन्य ७ जनाको हकमा कम सजाय भएको छ ।
टोपबहादुर रायमाझीलाई चार वर्ष र बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय
नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा जिल्ला अदालत, काठमाडौंले कैद सजाय निर्धारण गरेको छ। फैसलाअनुसार टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तथा बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार जरिवानाको सजाय भएको छ।
यस मुद्दामा अधिकतम चार वर्ष कैद सजाय भएको छ।
भोलिदेखि बजारमा पूर्ण तौलको ग्यास सिलिन्डर पाइने
नेपाल आयल निगम लिमिटेडले बुधबारबाट १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय गरेको छ।
२९ फागुनदेखि बजारमा आधा तौल (७.१ किलो) भएको सिलिन्डर मात्रै प्रयोगमा रहेकोमा चार महिनापछि उपभोक्ताले पूरा तौल भएको ग्यास सिलिन्डर पाउन लागेका हुन्।
मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
सरकारले विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
निर्णय सुनाउँदै पोखरेलले भने, ‘अनुचित मिटरब्याज लेनदेन सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने।’
समस्याग्रस्त सहकारीका ४२ बचतकर्ताको १७ लाख फिर्ता
समस्याग्रस्त घोषणा भएका पाँचवटा सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यको औपचारिक सुरुवात गरिएको छ। मंगलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा ४२ बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गरेका हुन्।
प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो।
विपद्को उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारको निर्णय
प्राकृतिक विपतमा खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो।
जोखिमपूर्ण काममा खटिने सुरक्षाकर्मीको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने निर्णय गरिएको सरकारले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले के निर्णय गर्यो ?
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न पाँच निर्णय सार्वजनिक भएको छ। बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले निर्णयबारे जानकारी दिएका हुन्।
यस्तो छ सार्वजनिक पाँच निर्णय :
१. बिउबिजन (पहिलो संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने,
२. सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने,
३. अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने,
४. नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष श्री महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक र कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,
५. अनुचित मिटरब्याज लेनदेन सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगको प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने ।
मिटरब्याजपीडित र सरकारबिच निजगढमा पाँच घण्टा वार्ता
मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडित र सरकारबिच बाराको निजगढमा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार भएको छलफल करिब पाँच घण्टा चलेको थियो।
निजगढ नगरपालिका– ८ स्थित निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्तामा आन्दोलनरत पक्षले आफ्ना ६बुँदे माग सरकारसमक्ष राखेको छ। वार्तामा सहभागी पीडितका प्रतिनिधिका अनुसार मागबारे प्रारम्भिक छलफल भए पनि कुनै ठोस सहमति भएको छैन। दुवै पक्ष दोस्रो चरणको संवादका लागि आन्तरिक तयारीमा जुटेका छन्।
कर्जा दुरुपयोग गरेको आरोपमा विष्णु पौडेलनिकट व्यवसायी पक्राउ
बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनी एमाले उपाध्यक्ष विष्णु पौडेलनिकट व्यवसायी हुन्। नेता पौडेलले रुपन्देहीमा करोडौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। जुन अनुसन्धानमा पौडेल ८ असारदेखि थुनामा छन्।
कोशीका कर्मचारीले लगाउन थाले आफ्नै प्रदेशका घरेलु कपडाको पोशाक
कोशी प्रदेशका कर्मचारीहरूले आफ्नै प्रदेशमा उत्पादन भएका घरेलु कपडाबाट बनेका पोशाक लगाउन थालेका छन्।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि आफ्नै प्रदेशमा उत्पादन भएका ढाका, खाडी र अल्लोबाट बनेका कपडाको पोशाक प्रयोग गर्न प्रोत्साहन गर्दै अतिरिक्त भत्ताको व्यवस्था गरेपछि कर्मचारीहरूले स्थानीय उत्पादनका पोशाक लगाउन थालेका हुन्।