सभामुख डोलप्रसाद अर्यालले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबानलगायत विपतका जोखिम न्यूनीकरणका लागि प्रभावकारी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारी, राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका हुन्।
उनले यस वर्षको मनसुन सुरु भइसकेको र विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानका घटना देखिन थालेको उल्लेख गर्दै विपत् व्यवस्थापनमा विशेष सतर्कता अपनाउन सरकारलाई सचेत गराए।