हर्मुज जलमार्ग भएर गइरहेको एउटा जहाजमा इरानी सेनाले प्रहार गरेपछि अमेरिकाले जवाफी कारबाहीस्वरूप आक्रमणको नयाँ शृंखला सुरु गरेको छ । अमेरिकी आक्रमणको जवाफमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स’ (आइआरजिसी)ले अर्को सूचना नआएसम्मका लागि सो जलमार्ग बन्द गरिएको घोषणा गर्दै यस क्षेत्रमा रहेका अमेरिकी आधार शिविर तथा सहयोगी राष्ट्रहरूमाथि आक्रमण सुरु गरेको छ । आइआरजिसीले जोर्डनस्थित अमेरिकी आधार शिविरमा प्रहार गरेको दाबी गरेको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरूको सामना गरेको जनाएका छन् ।
हर्मुजमा यात्रा गर्ने प्रयास गरिरहेको जहाजमा नौसेना क्रुज मिसाइल प्रहार गरेपछि अर्को सूचना नभएसम्म जलमार्ग बन्द गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । राज्य समाचार एजेन्सीले जारी गरेको विज्ञप्तिअनुसार बारम्बार निर्देशनलाई बेवास्ता गरेपछि जहाजलाई ‘चेतावनीपूर्ण गोली लागेको र रोकिएको’ आइआरजिसीले जनाएको छ ।
अमेरिकाबाट हुने कुनै पनि ‘आक्रामक कदम’को कडा जवाफ दिइनेछ र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निसानामा पारिने चेतावनी आइआरजिसीले दिएको छ । अमेरिकासँगको वार्तामा देशको मुख्य वार्ताकारसमेत रहेका इरानका सभामुख मोहम्मद बागेर घालिबाफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘एकपक्षीय सम्झौताहरूको युग समाप्त भइसकेको छ ।’ उनले अगाडि भने : ‘हामीले तपाईंहरूलाई भनेका थियौँ : आफ्नो वचन पूरा गर्नुहोस् वा त्यसको मूल्य चुकाउन तयार हुनुहोस् । यथार्थले ढोका ढकढक्याउँदै छ ।’
यस साता आक्रमणको तेस्रो चरण सुरु गर्दै अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएअनुसार आइआरजिसीले होर्मुज जलमार्गमा साइप्रसको झन्डावाहक जहाजमाथि ‘खुलेआम आक्रमण’ गर्यो । सेन्टकमका अनुसार इन्जिन कक्षमा पुगेको गम्भीर क्षतिका कारण ‘एमभी जिएफएस ग्यालेक्सी) आफ्नो यात्रा अघि बढाउन असमर्थ भयो । साथै, जहाजका एक चालक दलका सदस्य बेपत्ता भएको पनि बताइएको छ । बेलायतको ‘म्यारिटाइम ट्रेड अपरेसन्स’ले सैन्य अधिकारीहरूबाट प्राप्त जानकारी उद्धृत गर्दै जनाएअनुसार जहाजका चालक दलका सदस्यहरू जहाज छोड्न बाध्य भएका थिए र उनीहरू लाइफबोटमा रहेका छन् ।
‘व्यापारिक जहाजहरूमा पहिले भएका आक्रमणका लागि जिम्मेवार ठहराइएपछि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर प्रदान गरिएको थियो, तर फेरि असफल भएको छ,’ सेन्टकमले एक्समा सेयर गरेको एक विज्ञप्तिमा लेखेको छ । अमेरिकी आक्रमणहरूले मिसाइल र ड्रोन साइटहरू, सञ्चार नेटवर्कहरू र तटीय निगरानी स्थानसहित १४० इरानी सैन्य लक्ष्यहरूमा प्रहार गरेको सेन्टकमले बताएको छ । त्यस्तै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले लेखेका छन्, ‘इरानले खराब छनोट ग¥यो । अब त्यसको मूल्य तिनीहरूले तिर्छन् ।’ अमेरिकाले ‘दक्षिणी तटमा धेरै तटीय आधार र दूरसञ्चार टावरहरूलाई’ लक्षित गरेको बताएको छ ।