औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालन गर्ने मनमोहनको तयारी

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

औषधि उत्पादन, नियमन, विश्लेषण र अनुसन्धानका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसहित मनमोहन प्राविधिक विश्वविद्यालयले औषधि विज्ञानमा स्नातकोत्तर तहको ‘एमफार्म’ पाठ्यक्रम निर्माण गर्न सरोकारवालासँग छलफल थालेको छ।

विश्वविद्यालयको स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ साइन्सेसको फार्मेसी विभागले औषधि विज्ञानमा स्नातकोत्तर तह ‘मास्टर अफ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्न पाठयक्रम निर्माणका लागि विज्ञ, उद्योग र सरकारी निकायका प्रतिनिधि र प्राध्यापकहरूसँग छलफल थालेको हो।

आइतबार फार्मेसी विभागले विराटनगरमा आयोजना गरेको ‘एमफार्म इन फार्मास्युटिक्स करिकुलम डेभलपमेन्ट’ कार्यशालामा औषधि शिक्षा, औषधि उद्योग, नियामक निकाय तथा विश्वविद्यालयका विज्ञहरूको सहभागिता थियो।

कार्यक्रममा प्रस्तुतीकरण गर्दै पाठयक्रमविज्ञ डा. धर्मप्रसाद खनालले मनमोहनले तयार गर्न लागेको ‘एमफार्म’ पाठयक्रमले औषधि विज्ञानमा व्यावसायिकता, नैतिकता तथा आचारसंहिता कायम राख्न, फार्मासिस्ट, स्वास्थ्यकर्मी एवं सरोकारवालासँग प्रभावकारी समन्वय गर्न, बहुविषयक स्वास्थ्य सेवा टोलीको रूपमा योगदान गर्न र फार्मेसीसम्बन्धी ज्ञान र सिपलाई व्यवहारमा लागू गराउन सहयोग पुग्ने बताए। 

अर्का विज्ञ प्रो.डा. उत्तम बुढाथोकीले स्नातकोत्तर तहको एमफार्म पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको औषधि उद्योगको आवश्यकता तथा अनुसन्धानमुखी शिक्षालाई केन्द्रमा राखेर तयार गरिने बताए। औषधि उद्योगी राजेश प्रसाईँले स्वदेशी उद्योगहरूको आवश्यकतालाई ध्यान दिएर विश्वविद्यालयहरूले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए। अर्का उद्योगी राजु अधिकारीले व्यावहारिक पाठ्यक्रम निर्माण गरेर दक्ष जनशक्ति उत्पादन गरेमा रोजगारी दिन उद्योगहरू तयार रहेको बताए।

नेपाल फार्मेसी काउन्सिलकी रजिस्ट्रार उषा तण्डुकारले नेपालमा औषधि विज्ञानमा स्नातकोत्तर गर्नेहरूलाई सूचीकृत गराउन ऐन संशाेधन गर्न लागेको जानकारी दिइन्। उनका अनुसार औषधि उद्योग, नियामक निकाय, शिक्षण संस्था, औषधि अनुसन्धान प्रयोगशाला र गुणस्तर नियन्त्रण प्रयोगशालाका लागि औषधि विज्ञानका दक्ष जनशक्तिहरूको माग उच्च छ।

औषधि व्यवस्था विभाग कोशीकी निमित्त प्रमुख संजिता बर्माले औषधि विज्ञानमा दक्ष जनशक्तिको अभाव भएकाले अझै नियमनमा कठिनाइ भइरहेको भन्दै जनशक्ति उत्पादनमा प्राविधिक विश्वविद्यालयको प्रयास सफल हुने बताइन्।

कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल औषधि विज्ञानमा ब्याचलर अफ फार्मेसी (बिफार्म) कार्यक्रम सञ्चालनमा छ। विश्वविद्यालयले आफ्नो शैक्षिक स्तरवृद्धि गर्दै औषधि विज्ञानमा स्नातकोत्तर तहको एमफार्मको पनि अध्ययन–अध्यापन गराउने तयारी गरेको हो।

सुझावित समाचार